शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • नारायणी नदी किनार विश्वकै आकर्षक गन्तव्य बन्दै
Breaking News

नारायणी नदी किनार विश्वकै आकर्षक गन्तव्य बन्दै

भरतपुर । नारायणी नदी किनारलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने भएको छ । नारायणी नदी किनारमा रहेको झण्डै १५ विघा क्षेत्रफलमा पर्यटकीय गतिविधिहरु गर्न मिल्ने गरी संरचनाहरु निर्माण हुन लागेका छन् । बुधबार नदी किनारमा शहरी विकास मन्त्रालय अन्र्तगत आरती स्थल र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्र्तगत नारायणी नदी किनारा संरक्षणको संयुक्त रुपमा शिलन्यास गरिएको छ । भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । मेयर रेनु दाहालले नारायणी नदी किनारलाई विश्वकै पर्यटक घुमफिरमा आउने गन्तव्यका रुपमा विकास गरिने बताइन् ।

“विश्वकै पर्यटकको आकर्षणको केन्द्र बन्नेछ”, उनले भनिन्, “नदी कटान पनि रोकिने छ, घुमफिरको गन्तव्य पनि हुनेछ, महानगरको राजश्व पनि वृद्धि हुनेछ ।” मेयर दाहालका अनुसार नदी किनारमा ठुला संरचनाहरु नबनेपनि पर्यटक लोभ्याउने संरचनाहरु बन्नेछन् । नदी किनारलाई धार्मिक क्षेत्र, प्रर्दशनी क्षेत्र र खेल क्षेत्रका रुपमा विकास गरिने लक्ष्य रहेको बताइन् । महानगरको गुरुयोजना अनुसारनै नदी किनारको सौन्दर्यीकरण काम सुरु भएको बताइन् । नारायणीको पुलदेखि नारायणी लिफ्टसम्मको साढे २ किमि क्षेत्रमा पर्यटन पूर्वाधारहरु बन्ने बताइन् । “नदी किनारमा महानगरको अगुवाईमा लगानी भएको छ”, उनले भनिन्, “चहलपहल थप बढ्नेछ, पर्यटकहरु रमाउने क्षेत्रका रुपमा चिनिनेछ ।” सघन शहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले आकर्षक आरती स्थल निर्माण १८ महिनामा पुरा हुने बताए ।

विज्ञापन

उनका अनुसार २ वटा आर्कषक आरती प्लेटफर्म निर्माण हुनेछन् । २८ मिटर लामो ५ मिटर चौर्डाइ भएको २ वटा आरती भवन बन्नेछन् । ४५ वटा आकर्षक बत्तीहरु जडान गरिनेछ । ५ सय वर्गमिटरमा मोज्याइक टायल विच्छाइनेछ । फागुन १० मा सम्झौता भएको यो योजना २०७१ भदौ ९ मा सम्पन्न हुनेछ । महालक्ष्मी–ओम सत्य साई जेभी भरतपुरले निर्माणको जिम्मा पाएको छ । महानगरभित्रका करिब १८ किमि सडक सञ्जाल, देवघाट बसापर्क निर्माण र आरती स्थल निर्माण हुनेछन् । आरती स्थल बनाउन मात्रै पौने २ करोड खर्च हुनेछ । “बाढीले पनि नभत्काउने गरी नदी छेउमै आरती स्थल बन्नेछ”, अर्यालले भने, “धार्मिक पर्यटक समेत नदी किनारमा आउने वातावरण बन्नेछ ।”

विज्ञापन

नारायणी नदी किनारमा २०७६ बैशाख देखि लगातार साँझ आरती गरिदै आइएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले नदी किनार धार्मिक गन्तव्य बन्न लागेकोमा खुशी व्यक्त गरे । मनको शान्तीका लागि समेत नदी किनार आउनेहरुको संख्या बढ्ने अपेक्षा गरे । नदी किनारमै किनारा संरक्षणका लागि ६ सय ४० मिटर दुरीमा संरचनाहरु बन्ने भएका छन् । १५ करोड ९२ लाख लागतमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले १८ महिनामा काम सक्ने गरी पुस ५ गते सम्झौता गरेको छ । नारायणी नदी व्यवस्थापन आयोजनका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार ३ सय मिटरको काम सुरु भैसकेको छ । बाँकी काम १ हप्तामै सुरु हुनेछ ।

“नदी किनारमा साढे २ मिटर अग्लो आर्कषक सिढिहरु बन्नेछन्”, उनले भने, “बाढी आउँदा सिढिहरु डुब्नेछन्, तर बगाउने छैन, यो नेपालमै पहिलो पटक बनाउँदैछौँ ।” खुट्किलाहरु १ मिटर देखि ५० सेन्टीमिटरका रहनेछन् । १० वटा खुट्किलाहरु हुनेछन् । माथिल्लो भाग साढे ४ मिटर फराकिलो हुनेछ । “सिढिको माथिल्लो भागमा २२ मिटरको दुरीमा विरुवाहरु रोपेर चौतारी बनाउनेछौँ”, उनले भने, “पर्यटकहरु रुखको छहारीमा बस्दै नदी अवलोकन गर्नेछन् ।” भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले निर्माण कार्य तोकिएकै समयमा पुरा गर्न निर्माण व्ययवसायीलाई निर्देशन दिएका छन् । नदी किनारमा साढे ३ किमि मोज्याइक टायल सहितको पैदल मार्ग निर्माण कार्य जारी छ ।

झण्डै १ सय वटा ४ पांग्रे सवारी राख्न मिल्ने गरी पार्कीङ स्थल पनि बनाइने योजना रहेको छ । नारायणी नदी किनारमा पूर्वाधार विकासका लागि भरतपुर महानगर, सिँचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेका छन् । नारायणी नदी व्यवस्थापनका लागि २ अर्ब ४३ करोड ४० लाख बराबरको ५ प्याकेजमा कामहरु हुनेगरी सम्झौता भएका छन् । नारायणी पुलmको माथिल्लो भागदेखि गोलाघाटसम्म नदी तटबन्धनको काम समेत हुदैछन् । नारायणी नदी व्यवस्थापन आयोजना चितवनका निर्देशक गणेश मरासिनीले झण्डै १९ किलोमिटर नदीमा तटबन्धन हुने बताए । “नारायणीको तटबन्धनका लागि ५ प्याकेजमा कामहरु हुदैछन्”, उनले भने, “बाढी पस्नबाट वस्ती जोगिनेछ, नदी किनारको नदी उकास जमिनमा पर्यटकीय गतिविधिहरु पनि बढ्नेछ ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस