भरतपुर, मंसिर २ –
चितवनको नारायणगढ नारायणी नदी किनारमा भोलि -मंसिर ३ गते) देखि हुने नारायणी महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव परिसरमा आज बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा मंसिर ३ गतेदेखि १६ दिनसम्म महोत्सव चल्ने छ ।
महोत्सवको भोलि दिउँसो ११ बजे बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिर बहादुर तामाङ्ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बाढीका कारण नारायणी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेर नारायणी किनार कुनै कार्यक्रम गर्न योग्य थिएन । यस्तो अवस्थामा महोत्सव आयोजना गर्नुअघि परिसरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा आवश्यक मेसिनरी तथा जनशक्ति परिचालन गरी किनारलाई सम्याएर महोत्सव सुरु गर्न लागेको हो ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीका अनुसार यस वर्षको महोत्सवलाई थप नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएका छन् । महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माण गरिनेछ भने नारायणी नदी किनार तथा वरपरको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुन महोत्सवमा राखिने छ । सम्बन्धित निकायको अनुमति तथा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी उक्त गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिनेछन् ।
महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिनेछ । यसबाट स्थानीय व्यवसायी, उद्यमी, स्वरोजगारमा संलग्न व्यक्ति तथा साना व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्राप्त हुने आयोजकको अपेक्षा छ ।






फेसबुक प्रतिक्रियाहरु