शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा निर्माणको चटारो, ठूला पूर्वाधार आयोजनाका कामले लियो गति
Breaking News

भरतपुरमा निर्माणको चटारो, ठूला पूर्वाधार आयोजनाका कामले लियो गति

सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन्।

चितवन। यतिबेला भरतपुर छिर्ने जो-कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन्। बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ। धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन्।

विज्ञापन

सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ। भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन्।

विज्ञापन

महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि सुरू भएका छन्।

सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन्।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत ८८ करोड ठेक्कामध्येको महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिए। ‘दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर निर्माण भइरहेको छ’, उनले भने।

सोही आयोजनाअन्तर्गत २५ करोड रूपैयाँ लागतमा निर्माण सुरू गरिएको रानीपोखरी र लक्ष्मीणनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ। साथै पाँच किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ।

यस्तै देवघाटमा १० करोड रूपैयाँ लागतमा निर्माण सुरू गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ। महानगरमा बनाउन सुरू गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ। यसका लागि ८८ करोड विनियोजन गरिएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले ४१ करोड लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ। सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ। सोही क्षेत्रमा छ करोड रूपैयाँ लागतमा सडक निर्माण थालिएको छ। वडा नं १४ मा दुई करोड रूपैयाँमा कालिका पार्क निर्माण भइरहेको छ।

नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि सुरू भएको छ। नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ। आयोजना प्रमुख गणेश मरासिनीका अनुसार दुई अर्ब ४३ करोड रूपैयाँ विनियोजन गरिएको छ। नदीलाई पाँच भागमा विभाजन गरेर काम भइरहेको छ।

‘नारायणी बिच १५ करोड ९२ लाख रूपैयाँमा ठेक्का दिएर काम थालिएको छ भने अर्को ठूलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म एक अर्ब १५ करोड रूपैयाँमा तटबन्धको काम थालिएको छ। अन्य तीन खण्डको काम सुरू गर्ने तयारी भइरहेको छ’, प्रमुख मरासिनीले जानकारी दिए।

डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म छ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ। एक अर्ब २३ करोड लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए। यस्तै आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण, ठूला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताए।

त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ। संघीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका पाँच अर्ब रूपैयाँ हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणका चरणमा छन्। महानगर, एसियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनाका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेका छन्।

महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्र भएको महानगरका इञ्जिनियर साकार लामाले जानकारी दिए। उनका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा कालोपत्र गर्ने काम भइरहेका छन्। महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ।

महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ। ५३ करोड रूपैयाँमा भवन निर्माणको काम सुरू गरिएको हो। नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र संघीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिए। उनले भने, ‘अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ। नयाँ काम पनि सुरू भएका छन्।’

पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना सहर बन्ने नगरप्रमुख दाहालले बताए। उनले महानगरलाई दक्षिण एसियाकै नमूना सहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताए। प्रमुख दाहालले भने, ‘भरतपुर महानगर आगामी पाँच वर्षभित्र एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना सहर बन्छ भन्ने मेरो दृढ विश्वास छ।’

भरतपुर विमानस्थल विस्तार र क्रिकेट रङ्गशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीयस्तरमा सार्थक पहल गरिरहेको उनको भनाइ छ। नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उहाँले जानकारी दिए। दुई अर्बको लागतमा बन्ने पुलको प्राविधिक मूल्यांकन सम्पन्न भएर वित्तीय मूल्यांकन भइरहेको छ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको बताए। ‘तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ’, उनले भने। महानगरलाई नमूना सहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उनको भनाइ थियो। रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस