आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डपथको कार्यदिशालाई छोड्नु गल्ती भयो : जनार्दन शर्मा
समाचार

प्रचण्डपथको कार्यदिशालाई छोड्नु गल्ती भयो : जनार्दन शर्मा

अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताए।

विज्ञापन

प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाई छ। यसलाई केही पनि होइन जस्तोगरी फ्याँक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए।

विज्ञापन

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गरे। माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको उनले बताए।

उनले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर पनि गरे।

उनले भने, ‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ । त्यसको सही सदूपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापि दियौँ। मानौँ त्यो केहीपनि थिएन। त्यो भित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केहिपनि होइन जस्तो गरेर फ्याँकिदियौँ।’

उनले थपे, ‘पार्टी केन्द्रीय समितिले गम्भिर गल्ती गर्‍यो। त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याक्नुको कारण आज निराशा पैदा भएको हो। त्यसले विकेन्द्रीकरण गर्‍यो। पार्टीमा फुट, विभाजन भयो। पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौँ। हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौँ। सांस्कृतिक रुपमा कमजोर भयौँ। कार्यदिशा पनि स्पष्ट गर्न सकेनौँ। विद्रोह, चुनावलाई जोडेर यो, त्यो दोधारे कुरा गर्‍यौँ। आफैँ कन्फ्युजको अवस्था सिर्जना गर्‍यौँ।’

उनले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याए। देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा उनले जोड दिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस