शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमाले विवाद नयाँ मोडमा: जेठ २ मा फर्केपनि माधव नेपाल एमालेमा नबस्ने
समाचार

एमाले विवाद नयाँ मोडमा: जेठ २ मा फर्केपनि माधव नेपाल एमालेमा नबस्ने

काठमाडौं ।  नेकपा एमालेको विवादमा नयाँ मोड आएको छ । मंगलबार बसेको स्थायी कमिटिको बैठकमा भएको छलफलले विवादमा नयाँ मोड ल्याएको छ । अध्यक्ष केपी शर्मा ओली पक्ष २ जेठ ०७५ को सांगठनिक संरचनामा फर्कन तयार भए पनि वरिष्ठ नेता खनाल, नेपाल र रावलसहितका नेताहरू पार्टीमा बस्न नखोजेको देहिएको छ ।

बैठकले पार्टीका नेता माधवकुमार नेपाल समूहले एमाले छोड्ने पुरै तयारी गरेको निष्कर्ष निकालेको छ । नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकाल्दै पार्टी एकताका लागि गरिएका पहल खेर गएको छलफल बैठकमा भएको थियो । बैठकले नेपाल समुहका केहि नेताहरू फर्किन चाहेको खण्डमा जेठ २ को संरचनामा पार्टी लैजानेबारेमा पनि छलफल गरेको छ ।

विज्ञापन

नेता नेपालले आइतबार मात्रै आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको भर्चुअल बैठकमा ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको भन्दै नयाँ पार्टीको तयारीमा लाग्न निर्देशन दिएको बिषय समेत एमालेको बैठकमा उठेको थियो ।

विज्ञापन

एकातिर प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कामको नेतृत्व नेपाल सौहाले नै गरेको, अर्कातिर पार्टी गठनको तयारी गर्न लगाउनु र २०७५ जेठ २ कै कुरामा अड्डी कस्नुले वरिष्ठ नेता नेपालसहितका केही नेता एमालेमा रहने सम्भावना नभएको बैठकमा समिक्षा भएको थियो ।

‘बडो गर्वका साथ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई महिमामण्डन गरिराख्नुभएको छ। ती साथीहरू फर्किनुभयो भने त राम्रै होला, तर एकताको प्रयास र चाहनाका बीचमा कहीँकतै तालमेल मिल्दैन, तैपनि हाम्रो कोसिस जारी छ,’ स्थायी कमिटीको मंगलबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने।

स्थायी कमिटीको बैठकले कारबाहीमा परेका वरिष्ठ नेता नेपाल, खनाल र भीम रावललगायत केही नेताले पार्टी फुटाउने प्रयास जारी राखेको पनि निष्कर्ष निकालेको छ ।

संस्थापन पक्षले अधिकतम नेता–कार्यकर्तालाई पार्टीको मूल धारमै राख्ने गरी अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने भएको छ । खनाल–नेपाल समूहमा अर्को समूहमा रहेका दोस्रो तहका नेता र माथिदेखि तलसम्मको दुईतिहाईभन्दा धेरै ठूलो पंक्ति एकताकै पक्षमा रहेको बैठकको समीक्षा छ ।

‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न भइरहेका छलफललाई विवेचना गरेर नेतृत्वका तर्फबाट एकताका निम्ति अन्तिमसम्म पनि प्रयत्न जारी राख्ने निष्कर्ष निकालेका छौँ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामी एकता सकेसम्म जोगाउन सकियोस् भनेरै छलफल गरिरहेका छौँ, धेरैभन्दा धेरै साथीहरू मूल धारमा रहनुहोस् भनेर हाम्रो प्रयास अझै जारी छ ।’

एमालेको ओली समुहले वरिष्ठ नेता नेपाल, खनाल, भीम रावलसहित ११ जना तत्कालीन सांसदहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । तर, दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसालसहित १२ जना तत्कालीन सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको पाँच दिन बितिसक्दा पनि कारबाही गरेको छैन ।

पाण्डे, विष्ट, भुसाल र योगेश भट्टराईसँग संस्थापन पक्षका नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमाललगायतले सोमबार होटेल याक एन्ड यतीमा पाँच घन्टाभन्दा बढी छलफल गरेका थिए । तर, ओली पक्ष २ जेठ ०७५ को सांगठनिक संरचनामा फर्कन तयार भए पनि वरिष्ठ नेता खनाल, नेपाल र रावलसहितका नेताहरूमाथि कारबाही फिर्ता गर्ने र उनीहरूलाई पार्टीभित्रै राख्ने पक्षमा नरहेको स्रोतले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस