शनिबार, मंसिर ५, २०८३
  • होमपेज
  • Breaking News
  • नारायणी महोत्सवको दोश्रो दिनमै दर्शकहरुको उल्लासमय सहभागिता, पिरामाडि गेटले तान्यो ध्यान
Breaking News

नारायणी महोत्सवको दोश्रो दिनमै दर्शकहरुको उल्लासमय सहभागिता, पिरामाडि गेटले तान्यो ध्यान

भरतपुर।
चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा मंसिर ३ गतदेखि जारी नारायणी महोत्सवको दोश्रो दिनमै दर्शकहरुको उल्लासमय सहभागिता देखिएको छ ।

आज दोश्रो दिन १५ हजार दर्शक महोत्सवमा सहभागी भएको महोत्सव सचिवालयले जनाएको छ । हिजो पहिलो दिन निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा जारी महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ ।

विज्ञापन

महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माण गरिएको छ । उक्त गेटमा फोटो भिडियो खिच्नेहरुको आकर्षण देखिन्छ । त्यसैगरी नारायणी नदी किनार तथा वरपरको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुन महोत्सवमा राखिएको छ ।

विज्ञापन

त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिएका छन् ।

महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिएको छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय संस्कृतीको जगर्नेमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग सहकार्यमा गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, परिसरको सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सिमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रुपमा लिएको जनाएको छ । बाढीका कारण कुरुप र विजोक अवस्थामा पुगेको नारायणी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सुरु गरेको हो ।

महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनैकुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस