चितवन।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा आजदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको आज बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिर बहादुर तामाङ्ले उद्घाटन गरे ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङ्ले क्षतविक्षत बनेको नारायणी किनारलाई आफ्नै लगानीमा सम्माएकोप्रति आयोजकलाई धन्यवाद दिए । स्थानीय संस्कृतिको जगेर्ना लगायत महोत्सवले राखेको सबै उद्देश्यहरु पूरा हुने विश्वास व्यक्त गर्दै मन्त्री तामाङ्ले महोत्सवको सफलताको शुभकामना दिए ।
बाढीका कारण नारायणी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेर नारायणी किनार कुनै कार्यक्रम गर्न योग्य थिएन । यस्तो अवस्थामा महोत्सव आयोजना गर्नुअघि परिसरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा किनारलाई सम्याएर महोत्सव सुरु गरेको हो ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीका अनुसार यस वर्षको महोत्सवलाई थप नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएका छन् । महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने नारायणी नदी किनार तथा वरपरको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुन महोत्सवमा राखिएको छ ।
त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिएका छन् ।
महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिएको छ । यसबाट स्थानीय व्यवसायी, उद्यमी, स्वरोजगारमा संलग्न व्यक्ति तथा साना व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्राप्त भएको आयोजकको बुझाई छ ।
नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय संस्कृतीको जगर्नेमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग आवश्यक समन्वय र सहकार्यमा महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, परिसरको सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको देख्न सकिन्छ ।
आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको जनाएको छ ।
महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनैकुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् ।
महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।






फेसबुक प्रतिक्रियाहरु