सौराहा ।
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई अस्वीकार गर्ने भएका छन्। शनिबारको बन्दसत्रमा झिनो विरोधका आवाजका बीच सूची तयार गर्ने अधिकार पाएका ओलीले आजकै बन्दसत्रमा त्यो प्रस्तुत गर्ने तयारी छ।
विज्ञापन
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले भने निर्वाचनको माग गरिरहेका छन्। शनिबार ओलीलाई अधिकार दिने प्रस्तावको विरोध गर्दै उनले निर्वाचनको औचित्यबारे बोलेका थिए।
विज्ञापन
आजको बन्दसत्रमा ओलीले सूची प्रस्तुत गरेपछि एक स्वरमा निर्वाचनको माग गर्नुपर्ने आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् । आइतबार आफू पक्षका नेताहरुसँग छलफल गरेका रावलले ओली पक्षले त्यसको सुनुवाइ गरेनन् र पेलेर अघि बढे भने बन्दसत्र बहिष्कार गर्ने तयारी गरेका छन् । ‘बन्दसत्रबाट बाहिर आएर पत्रकार सम्मेलन गर्नुहुनेछ,’ रावलको ब्रिफिङ सुनेका एक नेताले भने ।
रावलले निकट नेताहरुसँग निर्वाचनलाई अस्वीकार गर्नु लोकतन्त्र र जबजको विरुद्धमा भएको बताएका थिए। ‘बन्दसत्रमा कस्तो परिस्थिति बन्छ। त्यसलाई विचार गर्नुपर्छ। सोहीअनुसार अगाडि बढ्नुपर्छ,’ रावलको भनाइ उद्धृत गर्दै ती नेताले भने। रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव आएको तर रावल अध्यक्षको उम्मेदवार बन्नलाई निकै अगाडि बढिसकेको भन्दै त्यो प्रस्ताव अस्वीकार गरिदिएको ती नेताको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु