शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम
Breaking News

भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम

चितवन। भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । महानगरपालिका–२४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो ।

महानगरप्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।”

विज्ञापन

यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ ।

विज्ञापन

पहिलो चरणमा महानगरका १४ वडामा यो कार्यक्रम लागू गरिने महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख दीपक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १५ वडामा दोस्रो चरणमा कार्यक्रम सञ्चालन गरिने छ ।

पहिलो र दोस्रो चरणमा २५÷२५ दिन स्वास्थ्यकर्मी जनताको घरदैलोमा पुग्नेछन् । यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ ।

करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताउनुभयो । महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् । वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
–––

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस