शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी
समाचार

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।
“हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइ हामी तपाइँहरुलाई जानकारी दिन्छौँ, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौँ हामी हत्यारा नजिक नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक थापा भन्छन् ।
उनका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवतः आजै चारैको शव परीक्षण हुने जनाइएको छ । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।
मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौँ विमानस्थलमा ओर्लेर आज मुगु पुगेका थिए । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरिको विशेष अनुसन्धान टोली परिचालित छ ।रासस

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस