काठमाडाैं।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन्।
विज्ञापन
अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भने, ‘रोजगार होइन स्वरोजगार हुने प्रयास गरौं ।’ राष्ट्रिय युवा परिषद र आइडिया स्टुडियो नेपालको साझेदारीमा संचालित ‘युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित’ पाँच दिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुग्नुभएका मन्त्री अथकले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए।
तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताए । नेपाल सरकारद्धारा संचालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री अथकले युवाहरुलाई आग्रह समेत गरे।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगाएत सातै प्रदेशका युवाहरुको सहभागी रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु