बुधबार, अशोज २, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्ड नसच्चिए माओवादी केन्द्रमा पहिरो जान रोकिँदैन : विशाल भट्टराई
समाचार

प्रचण्ड नसच्चिए माओवादी केन्द्रमा पहिरो जान रोकिँदैन : विशाल भट्टराई

काठमाडौं ।

नेकपा एमालेका नेता विशाल भट्टराईले प्रचण्डको प्रवृत्ति नसच्चिएसम्म माओवादी केन्द्रमा पहिरो रोक्न नसकिने बताएका छन् ।
पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले भने, “नेकपा (माओवादी केन्द्र) मा ३५ वर्षदेखि लगातार एउटै व्यक्ति नेतृत्व छ । प्रचण्डलाई चुनौती दिन खोज्ने नेता कार्यकर्ता बहिष्करणमा पर्दै आएका छन् । हामीले नारायणकाजी श्रेष्ठलाई मन खुम्च्याएर बसेको देखिरहेकै छौं । प्रचण्डले कागजी रुपमा आकर्षक कुरा गरेर अलमलाउँदै आउनुभएको छ । अब लामो समयसम्म ढाँट्न सकिँदैन । प्रचण्डको प्रवृत्ति सप्रेन भने माओवादी केन्द्रमा पहिरो जान रोकिँदैन ।”
संवैधानिक बाध्यताका कारण माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदलेको उनले बताए । उनले भने, “माओवादीमा नेतृत्व परिवर्तन, महाधिवेशन भन्ने अहिलेसम्म देखिएको थिएन । काग्रेसले पनि संवैधानिक बाध्यताका कारण म्याद थप्दै गएर बल्ल महाधिवेशन गरेको छ ।”

विज्ञापन

अन्य बुर्जुवा पार्टीलाई उछिनेर माओवादी नेताहरुले विलासी जीवन बिताइरहेको एमाले नेता भट्टराईको आरोप छ । उनले थपे, “जनयुद्धको धारबाट आएको कम्युनिस्ट पार्टीमा व्यक्ति मोटाउने, पार्टी कमजोर हुने अवस्था छ । म खोटाङमा ४६ दिन माओवादी अपहरणमा परेको थिएँ । त्यतिबेला पनि तडकभडक थियो । खुला भएर आउँदा पनि बुर्जुवा पार्टीलाई उछिनेर महँगा घर, गाडी उनीहरुकै छन् । सर्वहारा र कम्युनिस्टका नाममा सरकारी र निजी स्रोत र साधान कब्जा गर्ने व्यापारी र निर्माण व्यवसायीसँग चन्दा उठाएर व्यक्ति मोटाउँदै गएका छन् ।”
एमालेका कार्यकर्ता जनतासँग नङ-मासुजस्तो सम्बन्ध कायम गरेर बसेको उनको दाबी छ । उनले भने, “अनावश्यक स्रोत साधन लिएका छैनन् । जनतासँग सम्बन्ध सुमधुर छ । आफूलाई जनताभन्दा धेरै माथि देखाउने र तडकभडक देखाउने पार्टीले यसरी माओवादीले जनताको मन जित्न सक्दैन ।”

विज्ञापन

उनले माओवादी केन्द्रसँग सहकार्य र एकताको ढोका सम्पूर्ण रुपमा बन्द नभएको बताए । उनले भने, “राजनीतिमा असम्भव केही छैन । तर एक चुनावमा कडा प्रतिस्पर्धा नभई सहकार्य हुने देख्दिनँ । किनभने प्रचण्डलाई नेतृत्व नभई हुँदैन । सबथोक उहाँलाई नै चाहिन्छ । नेकपाको एकता बच्न नसक्नुको कारक उहाँ नै हो । उहाँको बाटो उल्टो छ । तत्काल सहकार्य सम्भावना छैन ।”
एमाले नेता भट्टराईले नेकपा एमालेको मुद्दाको सम्बोधन भए एक मिनेट पनि संसद् अवरोध नहुने बताए । उनले थपे, “हामी आफैंलाई भएको अन्यायको विरुद्ध लडेका हौं । रहर लागेर संसद् अवरोध गरेका होइनौं । तर चुपचाप लुरुलुरु संसदमा जान सक्दैनौं । त्यसमा प्रधानमन्त्री र सभामुखले अग्रसरता लिनुपर्यो ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस