नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभाजन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् । आइतबारको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तुष्टि जनाउदै सच्याउन भनेका हुन् ।
विज्ञापन
तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ । ओलीले प्रस्ताव गरेका कमिटी र कार्य विभाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवाद गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गुरुङले पनि यो गलत भयो सच्याउनुपर्छ भनेका थिए ।
नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा असन्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए । नेता घनश्याम भुसालले सवै विषयमा आपत्ति जनाएका थिए । ‘यो घोर अन्यायपूर्ण र अपमानपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वीकार गर्न सकिदैन, स्वीकार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।
यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओलीले पुर्नविचार गर्न चासो देखाएनन् । त्यस्तै नेता झपट रावलले अध्यक्ष ओलीले १० बुँदे पक्षधरमाथि कत्लेआम गरेको प्रतिक्रिया दिए । अर्का नेता निरज आचार्यले जाजरकोटको सह इन्चार्जमा गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु