शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देशभर माओवादी केन्द्रप्रति मानिसहरुको आकर्षण बढिरहेको छ , कर्णालीमा सबैभन्दा बढी : बस्नेत
समाचार

देशभर माओवादी केन्द्रप्रति मानिसहरुको आकर्षण बढिरहेको छ , कर्णालीमा सबैभन्दा बढी : बस्नेत

नेकपा माओवादी केन्द्रले आक्रामक रुपमा पार्टी सदस्य थप गरिरहेको छ।

३० लाख सदस्य बनाउने लक्ष्य राखेको माओवादी केन्द्रले ७ वटै प्रदेशमा सदस्य थप्ने तथा नवीकरण गर्ने काम गरिरहेको स्थायी समिति सदस्य शक्ति बस्नेतले जानकारी दिए।

विज्ञापन

माओवादी केन्द्रको सदस्यता विवरण अद्यावधिक गर्ने काम संगठन विभागले गरिरहेको छ। संगठन विभागका प्रमुख अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा छन्। सदस्यहरुमा चक्रपाणि खनाल, राम कार्की लगायतका छन्।

विज्ञापन

माओवादीको सदस्यता लिने आकर्षण देखेर समयावधि थप गरिएको बस्नेतले दाबी गरे।

‘देशभर माओवादी केन्द्रप्रति मानिसहरुको आकर्षण बढिरहेको छ,’ बस्नेतले  भने, ‘असोज मसान्तसम्मको सदस्यता वितरण गर्ने समय थप गरेर कात्तिक २५ सम्म पुर्याइएको छ।’

केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य राम कार्कीले १८ देखि २५ वर्षका युवाहरु पहिलो प्राथमिकतामा राखेर सदस्यता वितरण गरिएको बताए।

‘युवाहरुलाई पार्टीमा आकर्षित गरेर माओवादीमा भविष्य छ भन्ने बताइरहेका छौँ,’ कार्कीले भने, ‘अहिलेसम्म हामीलाई भएको रिपोर्टिङमा त्यस्तै युवाहरु सदस्य बनाइएको जानकारी छ।’

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी सदस्यता आवेदन फारम कर्णाली प्रदेशबाट भरिएको छ। प्रदेश १ र प्रदेश २ मा केही विवाद छन्। बागमती, लुम्बिनी र सुदूरपश्चिममा पनि राम्रै नयाँ सदस्य थपिएका छन्।

कर्णालीका रुकुम पश्चिम, जाजरकोट, कालिकोट लगायतका जिल्लामा सदस्य संख्या अधिक बढेको माओवादीका नेताहरूको भनाइ छ।

‘सदस्यता वितरण, नवीकरणमा सबैभन्दा अगाडि कर्णाली प्रदेश छ,’ कार्कीले सोमबार बसेको संगठन विभागको बैठकमा भएको ब्रिफिङ उद्धृत गर्दै भने, ‘त्यसपछि लुम्बिनी छ, सबै जिल्लाबाट सदस्यता वितरणको फारम प्राप्त नभएकोले संख्या भने यकिन छैन।’

स्थायी समिति सदस्य बस्नेतले पनि सदस्यता वितरणले उत्साह थपेकोले लक्ष्य प्राप्ति हुने देखिएको बताए।

‘हामीले पार्टी सदस्यता वितरण र नवीकरणलाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ बस्नेतले भने, ‘आक्रामक रुपमा संगठन विस्तार भइरहेको छ।’

माओवादी केन्द्रले झण्डै दस वर्षअघिको जस्तै संगठन विस्तार हुने र व्यवस्थित हुने विश्वास लिएको बस्नेतले बताए।

‘३० लाख सदस्य भनेको समर्थक, मतदाता सबै गरेर हो, क्रियाशील सदस्य १५ लाखको हाराहारीमा हुने अनुमान छ,’ केन्द्रीय सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहेका कार्कीले भने।

एमालेसँग २०७५ जेठ ३ गते पार्टी एकता गर्दा माओवादीको सदस्य संख्या यकिन हुन सकेको थिएन। माओवादीले ५ लाखको दाबी गरेपनि एमालेले भने रेकर्डमा जम्मा ३ लाख मात्र रहेको बताउने गरेको थियो।

आफ्ना सक्रिय कार्यकर्ताको यकिन संख्या खुलाउन पनि माओवादीले संगठनमा ध्यान दिएको छ।

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ। त्यसकै लागि संगठन विस्तारलाई तीव्रता दिएको नेताहरुले बताए।

वडा, पालिका, प्रदेशमा सम्मेलनबाट नेतृत्व चयन गर्ने माओवादी केन्द्रले संविधानअनुसार जिल्लाको संरचना परिवर्तन गरेर जिल्ला समन्वय समिति बनाएको छ।

‘हामीले विस्तृत रुपमा माओवादी पार्टीलाई फेरि एकपटक व्यवस्थित बनाइरहेका छौँ,’ स्थायी समिति सदस्य गणेश शाहले नेपालखबरसँग भने, ‘पार्टीका सबै कमिटी चलायमान भएका छन्, बैठक, भेला भएका छन्, सबैको ध्यान पार्टी बनाउन केन्द्रित भएको छ र एकप्रकारको छुट्टै उर्जा मिलेको साथीहरुले बताउनुभएको छ।’

माओवादीले टोल र सेल कमिटीको भेला गर्नेछ भने वडादेखि माथिका सबै तहको अधिवेशन नै गर्नेछ। सम्मेलनबाट नेतृत्व चयनका लागि निर्वाचित नै गरिने माओवादीले दाबी गरेको छ।

टोल, सेलमा सचिव हुनेछन् भने अन्य तहको अध्यक्षसहितका पदाधिकारी रहनेछन्।

प्रदेश १ र २ मा विवाद
नेताहरुका अनुसार प्रदेश १ र २ मा सदस्यता वितरणमा विवाद छ। प्रदेश १ मा प्राविधिक समस्याले सदस्यता फारम वितरणमै समस्या भएको केन्द्रीय सदस्य राम कार्कीले बताए।

‘आर्थिक स्रोत भएका प्रदेश १ र २ का केही जिल्लामा थोरै विवाद जस्तो देखिएको छ,’ कार्कीले थपे, ‘खासगरी आफ्नै पक्षकालाई जसरी पनि सदस्य बनाउने र ठूलो संख्या देखाउन खोज्दा केही समस्या देखिएको छ, तर, त्यो छिट्टै हल हुन्छ।’

केन्द्रमा दिइएको जानकारी अनुसार अहिलेसम्म गण्डकी प्रदेशमा माओवादी केन्द्र कमजोर देखिन्छ।

गोरखाबाहेक गण्डकीका अन्य जिल्लामा माओवादीको सदस्य संख्या सोचेजसरी बढ्न सकेको छैन। गोरखामा भने पहिलेभन्दा निकै बढेको छ।

बागमती प्रदेशका १३ मध्ये ९ जिल्लामा सदस्यता वितरण निकै राम्रो रहेको माओवादी केन्द्रले जनाएको छ। सुदूरपश्चिममा पनि माओवादी केन्द्रको अवस्थामा निकै सुधार आएको जानकारी केन्द्रीय कार्यालयलाई दिइएको छ।

सबै जिल्लाका विवरण प्राप्त भएपछि मात्र माओवादीले संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

‘७७ वटै जिल्लाबाट प्राप्त जानकारी सम्बन्धित प्रदेशबाट केन्द्रमा पठाइनेछ,’ कार्कीले भने, ‘त्यसकै आधारमा पार्टीले कार्यक्रम तय गर्नेछ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस