शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • आगामी चुनावमा एमालेको बहुमत आउँछ, ओली नै प्रधानमन्त्री बन्नुहुन्छ : विष्णु पौडेल
समाचार

आगामी चुनावमा एमालेको बहुमत आउँछ, ओली नै प्रधानमन्त्री बन्नुहुन्छ : विष्णु पौडेल

काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने र पार्टी अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । पार्टीबाट चोइटिएको समूहले चुनावमा एमालेलाई कुनै पनि असर पार्न नसक्ने उनको दाबी छ ।

विज्ञापन

उपमहासचिव पौडेलेले भने, “एमाले फुट्यो भन्ने निष्कर्षमा म सहमत छैन । दक्षिणपन्थीहरुको सहानुभूतिमा सानो झुन्ड चोइटिएको मात्र हो । त्यसकारण एमाले विद्यमान कानुनी आधारमा नफुट्ने भयो भनेर अध्यादेश नै ल्याउनुपर्यो । अब हामी पार्टीलाई पुरानो अवस्थामा फर्काउने मात्र होइन, अझ सशक्त, गतिशील र शक्तिशाली बनाउँछौं ।

विज्ञापन

पौडेलले थपे, “२०५४ सालमा चाहिँ एमाले साँच्चै फुटेको थियो । केन्द्रीय कमिटीको आधा हिस्सा मालेमा लागेको थियो । बामदेव गौतम, सीपी मैनाली, आरके मैनाली, सहाना प्रधान, सीतानन्दन राय, अशोक राईहरु विभाजनमा लाग्नुभएको थियो ।

संसदीय दल आधा फ्याक भएको थियो । तलदेखि माथिसम्म विभाजन भएको थियो । महाकाली सन्धि, भारत र अमेरिकाको विरोधमा सशक्त नारा लागेका थिए । तर पनि अलग भएको मालेले एक सिट पनि जित्न सकेन । जमानत समेत जोगिएन । एकीकृत समाजवादीको त कहीँं कतै केही सम्भावना छैन । अब एमालेले बहुमत ल्याउँछ, सरकार बनाउँछ । केपी ओली फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छ ।”

ओली अहिले ७० नपुगेकाले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार नभएको उनको भनाइ छ । उनले भने, “पार्टीको लोकतान्त्रिकीकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको कुरा विधानमा समेटिएका हो । दुई कार्यकाल, उमेर हदका विषय पहिल्यै निर्णय भइसकेका कुरा हुन् । आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति हटोस् र नेतृत्व हस्तान्तरण हुँदै होस् भनेर ती प्रबन्ध गरिएका हुन् । केपी शर्मा ओली अहिले ७० पुग्नुभएको छैन । उहाँलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार छैन । पार्टीले पत्याएसम्म उहाँ अध्यक्ष रहिरहनुहुन्छ ।”

एमाले उपमहासचिव पौडेलले अहिलेको प्रतिनिधिसभाको प्रयोजन सकिएकाले चाँडोभन्दा चाँडो चुनावमा जानुको विकल्प नभएको पनि बताए । उनले भने, “तीन महिनामा बल्ल मन्त्रिपरिषद् विस्तारको सुरसार हुँदै छ । केही काम गर्ने लक्षण देखिएको छैन । यो प्रतिनिधिसभाले काम दिँदैन भनेर नै हामीले विघटन गरेका हौंं । यो प्रतिनिधिसभाको प्रयोजन सकिएको देखिन्छ । नयाँ ढंगले कार्यभार पूरा गर्ने देखिँदैन ।”

एमालेले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ५७ दिन संसद् अवरुद्ध गरेको थियो, यसपालि कति दिन अवरुद्ध गर्नुहुन्छ भन्ने  प्रश्नमा नेता पौडेलले भने, “एमाले अनुशासित, गतिशील र जिम्मेवार पार्टी हो । के गर्नुहुन्छ, के गर्नुहुन्न, हामीलाई राम्ररी थाहा छ । हामी गैरसंसदीय अभ्याससँग होसियार छौं । हामीले उठाएको मुद्दा के हो भने नेकपा एमालेको संसदीय दलका सदस्यले पार्टीको ह्वीप उल्लंघन गरे, विश्वासको मत नपाउँदा एमालेको सरकार अल्पमतमा पर्यो । ती १४ सांसदमाथि कारबाहीका लागि संसद् सचिवालयमा पत्र दर्ता गराउँदा सभामुखले सूचना टाँस गर्नुभएन । अनि ती गैर सांसदलाई राखेर सभामुखले प्रतिनिधिसभाको बैठक राख्न मिल्छ ? उहाँ खालि कानुन बमोजिम गरेको मात्र भन्नुहुन्छ, यसकारण गरेको भन्न सक्नुहुन्न, किन ?”

पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन अब भीम रावलकै जिम्मेवारी भएको उनले औंल्याए । उनले भने, “१० बुँदे सहमति कुनै निर्णय थिएन । त्यो सिफारिस मात्र थियो । केन्द्रीय कमिटीले रचनात्मक रुपमा लागू गर्ने भनेर अन्तर पार्टी निर्देशन गरेको हो । सबैजसो ठाउँमा कार्यान्वयन भइसकेको छ । तर सुदूरपश्चिममा बाँकी भएको सत्य हो । अब त्यसको संयोजक भीम रावले सहजीकरण गर्नुपर्यो । मुख्य जिम्मा उहाँकै हो ।”

पौडेलले बाग्मती प्रदेशको इन्चार्ज रामबहादुर थापा बादल नै भएको बताए । अष्टलक्ष्मी शाक्य उपाध्यक्ष र मुख्यमन्त्री दुवै भएकाले बादलले जिम्मेवारी पाउनु स्वाभाविक भएको उनको कथन थियो ।

एमसीसीबाट एमाले ‘ब्याक’ नभएको उनको स्पष्टोक्ति छ । उनले थपे, “एमसीसीका बारेमा हामी दुइटा कुरा ख्याल गर्छौं, बृहत् राष्ट्रिय हितमा छ कि छैन ? जनचाहनाको आधारमा छ कि छैन ? नेकपा एमालेले विगतमा बनाएको कार्यदलको सुझावलाई पनि ख्याल गर्छौं । एमसीसीका बारेमा सरकार नै स्पष्ट छैन । सत्ता गठबन्धनमा फरक फरक विचार र दृष्टिकोण आइरहेका छन् । सरकार नै नतातेका बेला हामीले एमसीसीका बारेमा पेस्की निर्णय गर्नु आवश्यक छैन । जति बेला चाहिन्छ, त्यति बेला निर्णय गर्छौं ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस