शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवन राष्ट्रिय निकुञ्जमा रेलमार्ग निर्माणका लागि विभागले दियो सर्वेक्षण अनुमति
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा रेलमार्ग निर्माणका लागि विभागले दियो सर्वेक्षण अनुमति

 चितवन। राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा रेलमार्ग निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सर्वेक्षण अनुमति दिएको छ । निकुञ्ज हुँदै पूर्व–पश्चिम वन्यजन्तुमैत्री रेलमार्ग निर्माणका लागि विभिन्न प्रक्रियाअन्तर्गत सुरूवाती चरणमा सामान्य सर्वेक्षणका लागि अनुमति दिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

उनले जथाभावी संरचना बनाउँदा वन्यजन्तुको बासस्थानमा असर पर्ने र वन्यजन्तु ओहोरदोहोरमा समस्या पर्ने भएकाले निकुञ्जभित्र रेलमार्ग सम्भव नहुने तर मध्यवर्ती क्षेत्रका बनहरुमा त्यो पनि आकासेपुल निर्माण गरी रेलमार्ग बनाउन कति सम्भव हुने/नहुने सर्वेक्षण गरेपछिमात्रै पत्ता लाग्ने बताए ।

विज्ञापन

चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बिसहजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ ।

विज्ञापन

भरतपुर विमानस्थलको पश्चिमपट्टि लङ्कूको पनि पश्चिमबाट खरखरेघाट हुँदै नवलपरासीको मुकुन्दपुरबाट रेल सञ्चालन हुने भएको हो । यसअघिको सम्भाव्यता अध्ययनमा पर्साको ठोरी हुँदै चितवनको माडीबाट निकुञ्ज पार गरेर गोलाघाटबाट नवलपरासीतर्फ जाने थियो ।

विश्वसम्पदा सूचीमा परेको निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाइ पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिँदै आएका थिए । विश्वसम्पदा सूचीमा परेका क्षेत्रबाट पूर्वाधार निर्माण गर्दा युनेस्कोबाट अनुमति लिनुपर्ने भएपछि विकल्प खोजिएको हो ।

यो क्षेत्रबाट रेलमार्ग बनाउने गरी रूट सर्वे सकिएकाले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को प्रक्रिया अघि बढाउने तयारी गरिएको उपाध्यायले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा डिपिआरको काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जान सकिनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस