चितवन ।
चितवनको भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसीप प्रतियोगिता हुन लागेको हो ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ ले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिताको कमर्सियल पार्टनरका रूपमा जोहरा इन्टरनेसनल प्रालि रहेको छ ।
विज्ञापन
यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टीभी म्याक्सले गर्नेछ । कान्तिपुर टेलिभिजन र आयोजक चितवन जिल्ला क्रिकेट संघबीच हालै प्रत्यक्ष प्रसारणका लागि सम्झौता समेत भइसकेको छ ।
टीभीका तर्फबाट चिफ मार्केटिङ अफिसर सुजन कार्की र आयोजकका तर्फबाट चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सबै खेलहरू कान्तिपुर टीभी म्याक्सका साथै कान्तिपुर टेलिभिजनको युट्युबलगायतका प्लेटफर्महरूमा पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतियोगिताका विजेताले पाउने ट्रफी भोलि (बिहीबार) भरतपुर–२२ पटिहानीस्थित सोल्टी वेस्र्टन रिसोर्टमा सार्वजनिक गरिदैछ ।
फेसबुक प्रतिक्रियाहरु