पार्टीभित्र पदाधिकारी चयनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै असन्तुष्टि प्रकट गरिरहेका छन् । पार्टीका नेताहरूमा गम्भीर विचलन आएको उनको टिप्पणी छ । बिहीवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टी पछिल्लो समय क्रान्तिकारी नरहेको स्वीकार गरे ।
पार्टी पहिलाको जस्तो नरहेको भन्दै प्रचण्डले पार्टी केही बिग्रिएको बताए । उनले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए । उनले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिष्पर्धा गर्नेतिर नभई आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उनको भनाइ छ ।
विज्ञापन
उनले सामुहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे । उनले पार्टीका नेताहरू मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे । व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको उनले बताए ।
विज्ञापन
‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै शुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ, उनले भने, ‘हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ । हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिष्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौँ । हामी सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर, त्यो वैचारिक गुट पनि होइन, त्यतातिर जान थालेका छौँ । यसले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको छ ।’
उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यक्ता रहेको बताए । उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे ।
‘हामी विचार, कुरा, र मुखमा त अहिले पनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण, दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरविरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहीराखे त्यसको औचित्य सिद्धिन्छ’, उनले भने ।
अध्यक्ष प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताउँदै पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताए ।
फेसबुक प्रतिक्रियाहरु