काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदमा रहँदा यती समूहसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी कार्यालयमा भएको नेकपा (एकीकृत समाजवादी)सँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए ।
विज्ञापन
विज्ञापन
उनले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए । अध्यक्ष नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए ।
अध्यक्ष नेपालले भने, “केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे । के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे । लुट्ने चुस्ने काम केपी ओलीले गरे । देश र जनताको सेवा गर्ने काम हामीले गर्यौँ । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्यौँ । हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ । उनले दुरुपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए । गफमा उनी अगाडि छन् । काममा हामी अगाडि छौँ । गफाडी नम्बर १ उनी, काममा अत्यन्त फास्ट हामी । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे,” उनले भने ।
अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए । उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरूलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।
फेसबुक प्रतिक्रियाहरु