बलिउडको सुपरहिट फिल्म ‘गजनी’मा मुख्य भिलेनमा अभिनय गरेका प्रदीप सिंह रावत पहिलो पटक नेपाली फिल्ममा देखिने भएका छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनले अभिनय गर्ने पक्का भएको हो । सोमवार सामाजिक सञ्जालमार्फत् नीताले फिल्ममा प्रदीप सिंहलाई अनुबन्ध गरिएको जानकारी गराइन् ।
प्रदीप विशेषगरी साउथ फिल्ममा चर्चित छन् । भिलेनको भूमिकामा सर्वाधिक रुचाएका उनले नीतासँग भोजपुरी फिल्म ‘माही’मा एकसाथ काम गरेका थिए । यही फिल्मबाट उनीहरुबीच राम्रो चिनजान भएको थियो । नीताले स्क्रिप्ट लेखनदेखि नै प्रदीपराजलाई सोचिएको बताएकी छन् । फिल्ममा अभिनेता रावतलाई सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीताको भनाई छ ।
विज्ञापन
विज्ञापन
‘ह्रस्व दीर्घ’मा साउथ इन्डस्ट्रीका अर्का एक चर्चित कलाकारलाई पनि अनुबन्ध गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उद्देश्यसहित नीता र हरिहरले भारतीय कलाकारलाई पनि अभिनय गराउन लागेका हुन् । नेपाल र भारतमा छायांकन हुने फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गरिने बताइएको छ । चन्द्र पन्तले फिल्मको निर्देशन गर्दैछन् ।
असारदेखि छायांकन सुरु हुने फिल्ममा नीता र हरिहरको मुख्य भूमिका रहनेछ । फिल्ममा सलोन बस्नेत पनि अनुबन्ध भइसकेका छन् । बलिउडका चर्चित छायांकार कविर लालले खिच्ने फिल्मको यूरोपमा पनि छायांकन हुनेछ । यो फिल्मको छायांकनभन्दा अगाडि नीता र हरिहर विवाह गर्ने योजनामा रहेको जानकारी प्राप्त छ । उनीहरु विगत लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।
फेसबुक प्रतिक्रियाहरु