चितवन।
विज्ञापन
रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी देखिएका छन् । आज (शनिबार) रत्ननगरमा भएको नेकपा एमाले रत्ननगर नगर कमिटीको बैठकमा उपस्थित मध्ये ६ जनाले मेयर पदको लागी आफ्नो आकांक्षा प्रकट गरेका छन् भने उप–मेयरमा ८ जनाले आकांक्षा प्रकट गरेका छन् ।
विज्ञापन
जसमा मेयर पदको लागि हाल उप–मेयर रहेकी बिमला देवि दुवाडी, राजाराम रेग्मी, डा. किशोर चन्द्र खनाल, चन्द्रकान्त न्यौपाने, प्रेमनाथ दुवाडी र ईश्वरी प्रसाद अर्याल रहेका छन् । त्यस्तै उप–मेयरका लागि ज्वाला वन, केशव आचार्य, पार्वती न्यौपाने, लक्ष्मी कुमारी कोइराला, गुप्तानाथ भट्टराई, प्रताप डल्लाकोटी, गोबिन्द कृष्ण श्रेष्ठ र बिन्दा कार्की रहेका छन् ।
मेयर र उप–मेयर पदका लागि आएको नामको टुङ्गो भने रत्ननगरको पार्टी कार्यलयमा आइतबार लगाउने प्रयास गरिने र सो सम्भव नभएमा जिल्ला तहमा छलफलको लागि लैजाने तयारी भएको बुझिएको छ ।
मेयर पदको लागि भने हालकी उप–मेयर बिमला देवि दुवाडीको नाम अग्रपंक्तिमा रहेको बुझिएको छ । यस अघि हालका मेयर नारायण वन पुनः मेयरमा उठ्ने चर्चा चलेको भएपनि उनले मेयरको लागि पुनः इच्छा नदेखाएपछि अब भने दुवाडीलाई मेयरको लागि बाटो सहज भएको देखिएको छ । दुवाडीले पनि यस अघि अब आफुले उप–मेयरमा रहेर धेरै कार्य अनुभव संगालेकाले मेयरमा उठेर नगरको बिकास गर्न चाहेको बताउदै आएकी छिन् ।
त्यसो त मेयर पदका लागि एमालेका पुराना नेताहरु प्रेमनाथ दुवाडी, डा. किशोर चन्द्र खनाल, चन्द्रकान्त न्यौपाने, राजाराम रेग्मी र हालका नगर अध्यक्ष ईश्वरी प्रसाद अर्यालले पनि आकाक्षां प्रकट गरेकाले रत्ननगरमा सहज ढंगबाट एमालेले मेयर र उप–मेयर पदको लागि उमेदवार छान्न भने सकस हुने देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु