बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • अर्घाखाँचीबाट चुनावमा ‘ह्याट्रिक’ गरेका टोपबहादुरको विरासत ढाल्ने संकेत, सत्तारुढ गठबन्धनको यस्तो तयारी
समाचार

अर्घाखाँचीबाट चुनावमा ‘ह्याट्रिक’ गरेका टोपबहादुरको विरासत ढाल्ने संकेत, सत्तारुढ गठबन्धनको यस्तो तयारी

२०६२/०६३ सालपछि सम्पन्न ३ वटा निर्वाचन लगातार जितेर ‘ह्याट्रिक’ गर्दै अर्घाखाँची जिल्लामा एकछत्र दबदबा कायम गर्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध गठबन्धन एकजुट हुने सैद्धान्तिक सहमति गरेका छन् । जिल्लामा एमाले एकातिर र अन्य सबै दल अर्काेतिर हुने अवस्था देखिएको छ ।

गठबन्धन गर्नेबारे सत्तारुढ दलले केन्द्रमा अझै टुंगो लगाउन नसके पनि अर्घाखाँचीबाट गठबन्धनले शुरूआत गर्‍यो । माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझी पुरानै ‘लिगेसी’ले अर्घाखाँचीमा एमालेको प्रभाव बनाउन चाहन्छन् तर उनको प्रभाव भत्काउन सत्तारुढ गठबन्धनले जिल्लाका सबै पालिकामा मिलेर एमालेरहित बनाउन चुनावी सहकार्य गर्ने निर्णय गरिसकेको छ ।

विज्ञापन

रायमाझीलाई ‘ब्रेक’ गर्ने गरी जिल्लामा तीनै तहका निर्वाचन (संघीय, प्रदेश र स्थानीय) नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मोर्चाबन्दी गर्ने गरी अगाडि बढेपछि अर्घाखाँचीको निर्वाचन सबैको चासोको केन्द्र बनेको छ तर जिल्लामा ६० प्रतिशत माओवादीहरू टोपबहादुरसँगै एमालेमा आइसकेको बताउँदै एमालेले चुनावसम्म ९० प्रतिशत ल्याइसक्ने गरी पार्टी प्रवेशलाई तीब्रता दिएको छ ।

विज्ञापन

अर्घाखाँचीमा ६ वटा स्थानीय तहमध्ये ४ वटामा कांग्रेस र १/१ वटामा एमाले र माओवादीले जीत हाँसिल गरेका थिए । गत निर्वाचनमा पनि कांग्रेस र माओवादी चुनावी तालमेल गरी चुनाव लडेका थिए ।

यस्तो छ २०७४ सालको चुनावी नतिजा ?

सन्धिर्खक नगरपालिकाः कांग्रेस – ८२३०, एमाले – ७१२७, जनमोर्चा – ५७८

सितंगगा नगरपालिकाः कांग्रेस – ८६७७, एमाले – ६९९०, जनमोर्चा – १३७

भूमिकास्थान नगरपालिकाः माओवादी – ५३२०, जनमोर्चा – ४५४२, एमाले – ४७०१

पाणिनी गाउँपालिकाः कांग्रेस – ५९७७, एमाले – ५४८५, माओवादी – ८१४

छत्रदेव गाउँपालिकाः कांग्रेस – ६१६७, एमाले – ५०६५, माओवादी – ९३२

मालारानी गाउँपालिकाः एमाले – ६५०३, माओवादी – ५५०४, जनमोर्चा – ५६०

कहाँबाट को निर्वाचित भएका थिए ?

सन्धिखर्क नगरपालिका प्रमुखमा कमलप्रसाद भुसाल, सितगंगा नगरपालिका प्रमुखमा सूर्यप्रसाद अधिकारी, भूमिकास्थान नगरपालिका उपप्रमुखमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिका अध्यक्षमा लेखनाथ पोखरेल, उपाध्यक्षमा तुल्सादेवी श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्षमा अच्युत गौतम कांग्रेसबाट विजयी भएका थिए ।

माओवादी केन्द्रबाट भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, सन्धिखर्क नगरपालिका उपप्रमुखमा ठाकुरकुमार विक र सितगंगा नगरपालिका उपप्रमुखमा टीका रेश्मी विजयी भएका थिए ।

नेकपा एमालेबाट मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्य, उपाध्यक्षमा प्रमिला क्षेत्री, पाणिनी गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी गौतम विजयी भएका थिए । गौतम अहिले कांग्रेस प्रवेश गरिसकेकी छन् ।

नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले जिल्लाका सबै पालिकामा आफूहरू अहिलेको अवस्थामा पहिलो रहेको बताए । ‘एमाले विभाजनको कुनै प्रभाव नै छैन,’ भुसालले भने, ‘माओवादी ८० प्रतिशत एमालेमै ल्याउँछौँ । नाम मात्र गठबन्धन हो । एमाले गठबन्धनसँग एक्लै लड्न काफी छ ।’

भुसालले पालिकामा को उम्मेदवार उठ्ने भन्ने छलफल भइनसकेको बताए । गत निर्वाचनमा अर्घाखाँचीबाट एमालेले सबैभन्दा धेरै ३२ हजार समानुपातिक मत ल्याएको थियो । माओवादीको १३ हजार थियो । त्यसमध्ये माओवादीका ७ हजारभन्दा बढी मत एमालेमा आइसकेको एमाले अध्यक्ष भुसालको दाबी छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले गठबन्धनले ६ वटै पालिकामा जीत निकालेर एमालेलाई पत्तासाफ गराउने दाबी गरेका छन् ।

सितगंगामा दाबेदारहरू

सितगंगामा नगरमा हालका नगर प्रमुख सूर्यप्रसाद अधिकारी दोहोरिने दाउमा छन् । अधिकारीसँगै कांग्रेसबाट पूर्व जिल्ला सचिव छविलाल पौडेल, सितगंगा नगर कमिटी अध्यक्ष मोती बेल्वासे आकांक्षी छन् ।

गठबन्धन भएमा सितगंगा नेकपा एकीकृत समाजवादीले छाड्नुपर्ने अवस्था पनि हुनसक्ने आकलन कांग्रेसजनमा छ ।

नेकपा एमालेबाट पार्टीका नगर अध्यक्ष बसन्तकुमार श्रेष्ठ मेयरको उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ । श्रेष्ठ गत निर्वाचनमा पनि नेकपा एमालेबाट मेयर पदका उम्मेदवार हुन् । पार्टी विभाजनको असर कम रहेको र विगतको तुलनामा एमाले सितगंगामा बलियो रहेको बताउँदै श्रेष्ठले आगामी निर्वाचन नेकपा एमालेको पक्षमा आउने दाबी गरे ।

सन्धिखर्कका दाबेदारहरू

सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल दोहोरिने गरी चुनावी जोडघटाउमा लागेका छन् । पूर्व जिविस सभापति समेत रहेका मेयर भुसालले टिकटका लागि लबिङलाई तीब्रता दिएका छन् । भुसालसँगै कांग्रेस प्रदेश सदस्य शान्ता भण्डारी, डा. डेबिड बस्यालले पनि आफूहरूले नेतृत्व पाउनुपर्ने बताउँदै आएका छन् । माओवादीबाट उपप्रमुख निर्वाचित भएका ठाकुरप्रसाद विक, एमालेका यसअघि नै मेयरमा पराजित भएका कृष्ण श्रेष्ठ पनि मेयरको टिकटका लागि दौडमा छन् ।

भूमिकास्थानका दाबेदारहरू

माओवादीबाट नगर प्रमुख जितेका भूमिकास्थानका मेयर अहिले एमालेमा छन् । रायमाझीसँगै एमाले रोजेका रेशम थापा अहिले पनि फेरि मेयरको दौडमा छन् । उनलाई दोहोर्‍याउन एमाले तयारजस्तै देखिन्छ ।

नेकपा एमालेकै खगिश्वर पन्थी, प्रेमनारायण गैरे समेत आकांक्षी छन् । भूमिकास्थानमा जनमोर्चाको संगठन बलियो छ । जनमोर्चाका सागर केसी, पवि खनाल, झविलालमध्ये एक जनाले मेयरमा टिकट पाउनेछन् । माओवादी केन्द्रबाट छमकुमार खनाल मेयरका आकांक्षी छन् ।

सितगंगाका आकांक्षीहरू

सितगंगा नगरपालिकामा कांग्रेसबाट सूर्यप्रसाद अधिकारी, छविलाल पौडेल र मोति बेल्वासे आकांक्षी छन् । एमालेबाट वसन्त श्रेष्ठ र माओवादी केन्द्रबाट टीका रेश्मी आकांक्षी छन् । रेश्मी अहिलेकी उपप्रमुख हुन् । सितगंगामा एमाले बलियो छ ।

छत्रदेवका आकांक्षीहरू

छत्रदेव गाउँपालिकामा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ, बाबुराम पौडेल, पिताम्बर खनाल र विष्णु भुसाल लगायत नेताहरू दौडमा लागेका छन् । एमालेबाट प्रकाश ज्ञवाली ऋषि अधिकारी नेतृत्वका आकांक्षी छन् ।

पाणिनीका आकांक्षीहरू

पाणिनीका अध्यक्ष अच्युत गौतम दोहोरिने मनस्थितिमा छन् । मणिराम पौडेल पनि अध्यक्ष बन्न पार्टी नेताहरूसँग लबिङ गरिरहेका छन् ।

मालारानीका आकांक्षीहरू

मालारानी गाउँपालिकामा माओवादी केन्द्रबाट पदम क्षेत्री र नेपाली कांग्रेसबाट विष्णु क्षेत्री आकांक्षी छन् । एमाले, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका आकांक्षी धेरै भए पनि खुल्न सकेका छैनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस