शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • कांग्रेसको गठबन्धनमा नयाँ सर्त, एमालेसँग गठबन्धन गर्न नपाइने
समाचार

कांग्रेसको गठबन्धनमा नयाँ सर्त, एमालेसँग गठबन्धन गर्न नपाइने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुसँग सर्तसहित चुनावी तालमेल गर्ने तयारी गरेको छ। वैशाख ३० गते हुने निर्वाचनमा कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न नपाउने सर्तसहित सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने भएको हो।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा प्रतिपक्षी एमालेसँग गठबन्धन गरेर जान सक्ने ख’तरा आकलन गरेर कांग्रेसले सर्तसहित तालमेलको तयारी गरेको एक शीर्ष नेताको भनाइ छ।

विज्ञापन

पदाधिकारीसमेत रहेका ती नेताले चैत ११ गते बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहसम्मै चुनावी तालमेलको निर्णय गर्नेसमेत जानकारी दिए।

विज्ञापन

‘चैत ११ गते हाम्रो केन्द्रीय समिति बैठक बस्दैछ। बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गर्छ,’ उनले भने, ‘तर, गठबन्धन गर्दा हाम्रा केही रिजर्भेसनहरु हुन्छन्। गठबन्धनमा रहेका बाहेकका दलसँग तालमेल गर्न नपाउने भनेर निर्णय गर्छौँ।’

सर्तसहित चुनावी तालमेलका लागि निर्णय नगरिए गठबन्धनमा रहेका दलहरु एमालेसँग पनि मिल्न सक्नेमा कांग्रेस सशंकित देखिन्छ। किन सर्त राखियो भन्ने प्रश्नमा ती नेताले भने, ‘निःसर्त छोडिदियो भने त एमालेसँग गठबन्धन गरिदिन्छन्।’

विपक्षी एमालेले स्थानीय निर्वाचनमा जोसुकै दलसँग आवश्यकताअनुसार तालमेल गर्न सकिने विकल्प खुला राखेको छ भने गठबन्धनको एउटा दल जसपाले पनि राप्रपा र जनमत पार्टी बाहेकका जोसुकै दलसँग तालमेल गर्न सकिने विकल्प खुला राख्ने निर्णय गरेको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपामात्रै तालमेल गर्ने विकल्प पनि खुलै रहेको अवस्थामा कांग्रेस विस्तारै सत्तागठबन्धनमा रहेका दलबहरूबीच तालमेल गर्ने तयारीमा लागेको हो।

कांग्रेसका अर्का एक पदाधिकारीले पनि आगामी केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा चुनावी तालमेलका विषयमा निर्णय गरिने जानकारी दिए।

‘चुनावी गठबन्धनको निर्णय लिन्छौँ। कहाँ कसरी गर्ने भनेर केन्द्रले सम्बन्धित कार्यसमितिलाई नै निर्णयको जिम्मेवारी दिन्छौँ।’

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका विश्वासपात्र एनपी साउदले पनि आगामी बैठकबाट चुनावी तालमेलका बारेमा सैद्धान्तिक निर्णय हुने बताए।

‘यही र त्यही भन्दा पनि आउँदो चुनावमा गठबन्धनकै प्रक्रियामा जाने भन्ने सैद्धान्तिक निर्णय बैठकले गर्छ,’ उनले भने।

केन्द्रीय सदस्य साउदले पनि चुनावी तालमेल गरेर जाने निर्णय भएपछि सत्ता साझेदार दलहरुले सत्ताबाहिरका दलहरुसँग मिलेर जान नहुने आशय व्यक्त गरे।

‘सत्ताधारी पार्टीबीचको गठबन्धन हो। सत्ताधारी गठबन्धनले प्रतिपक्षसँग मिलेर जाँदा हाम्रो विद्यमान गठबन्धनको चरित्रमा फरक पर्छ’, उनले भने।

कांग्रेसमा चुनावी तालमेलको विपक्षमा देखिँदै आएका एक नेताले पनि गठबन्धनबीचको तालमेलको सम्भावनालाई नकार्न नसकिने प्रतिक्रिया दिए।

‘हामी तालमेल गरेरै जानुपर्छ भन्नेमा पुगेका छौँ। ११ गतेको बैठकले यसका बारेमा निर्णय गर्छ होला,’ ती नेताले भने, ‘तालमेल गर्दा माथिबाट लादेर काम छैन। स्थानीय तहलाई जिम्मा दिनुपर्छ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल तय हुने बताएका छन्। पार्टीको जारी एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत सल्यान पुगेका महतले गठबन्धनबारे चैत ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने बताए।

‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौँ,’ प्रवक्ता महतले भने, ‘सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला।’

कांग्रेसले चैत ११ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ।

केन्द्रीय कार्यालयका मुख्य सचिव एवम् राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा पहिलो एजेन्डा रहेको छ। यस्तै संसदीय समिति गठन र विविध भनेर अन्य दुई एजेन्डा तय गरिएका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङले केन्द्रीय कार्यसमिति बैठकमा चुनावी अभियानको समीक्षा, संसदीय समिति गठन र समसामयिक विषय वस्तुमा केन्द्रित रहेर छलफल गरिने जानकारी दिएका छन्।

‘चुनावी तालमेलको विषय विविध शीर्षकको एजेन्डामा पर्छ। तालमेल हुन्छ वा हुँदैन भन्नेबारे अहिले नै केही भन्न सकिन्न,’ गुरुङले भने।

तर, कांग्रेस नेता डा. शेखर कोइरालाले भने कम्युनिस्टले कांग्रेसलाई भोट हाल्ने ग्यारेन्टी नभएकाले चुनावी तालमेलबारे कांग्रेसमा अलमल देखिएको बताएका छन्।

गृहजिल्ला मोरङको सुन्दरहरैँचामा आइतबार एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान खोजे पनि कम्युनिस्टले कांग्रेसलाई भोट हाल्ने ग्यारेन्टी नभएकाले चुनावी तालमेलबारे अलमल देखिएको बताएका हुन्।

‘कम्युनिस्टहरु कार्यकर्तामा आधारित पार्टी हुन्। तर, कांग्रेस जनतामा आधारित पार्टी हो। यहीकारण गठबन्धन गर्न समस्या भएको छ,’ डा. कोइरालाले भने, ‘कांग्रेसले आफ्नो विचार मिल्ने दलहरूसँग मात्रै चुनावी गठबन्धन गर्दा राम्रो हुन्छ। कम्युनिस्टसँग गठबन्धन गर्दा कांग्रेसलाई भोट आउँदैन। कम्युनिस्टबाट कांग्रेसका उम्मेदवारको पक्षमा भोट आउने सम्भावना हुन्न।’

कांग्रेस र कम्युनिस्ट गठबन्धनलाई निर्वाचनमा पुष्टि गर्न पनि समस्या हुने उनको भनाइ छ। निर्वाचनका लागि केन्द्रले निर्णय लिनुभन्दा तल्ला तहका कार्यसमितिलाई नै अधिकार छोडिदिँदा उत्तम हुने डा. कोइरालाको सुझाव थियो।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस