काठमाडौं। नेकपा माओवादी केन्द्रले सांसद ठम्मरबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको बैठकले पार्टीबाट अलग भएको घोषणा गरेका सांसद विष्टलाई निष्कासन गर्ने निर्णय गरेको हो। दलका नेता महेन्द्रबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा सांसद विष्टले निरन्तर दलको विधान विपरीतका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेकोले उनलाई दलको सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा. ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरीतका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो। उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ।’
विज्ञापन
माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका विष्ट आज नेकपा एमाले प्रवेश गर्दैछन्। आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले विष्टलाई एमालेमा स्वागत गर्ने छन्। विष्टले पनि आफू आज एमालेमा प्रवेश गर्न लागेको बताए। उनले भने, ‘आज मसहित अन्य नेता-कार्यकर्ताहरू एमालेमा समाहित हुँदैछौं।’
विज्ञापन
सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए। पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
फेसबुक प्रतिक्रियाहरु