सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएको हो, माओवादी केन्द्र कसैको बुई चढेर आएको होइन : दीनानाथ शर्मा
समाचार

माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएको हो, माओवादी केन्द्र कसैको बुई चढेर आएको होइन : दीनानाथ शर्मा

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्नै बलबुतामा चुनाव लड्ने तागत पार्टीसँग रहेको दाबी गरेका छन् ।

विज्ञापन

पत्रकार सँग कुरा गर्दै नेता शर्माले भने, “माओवादी केन्द्र कसैको बुई चढेर राजनीतिमा आएको हैन, बरु माओवादीको बुई चढेर अरु आकाशमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र मिल्न सक्ने शक्तिसँग मिल्छ, नमिल्दा आफ्नै ताकत र बलबुतामा लड्न तयार छौं ।”

विज्ञापन

माओवादी केन्द्रले नेपाली कांग्रेसलाई जबर्जस्ती गठबन्धनमा ल्याउन चाहेको नभई कांग्रेसले नै गठबन्धन गर्न चाहेको दाबी पनि उनले गरे । शर्माले थपे, “हामीले गठबन्धन चाहिन्छ भनेका होइनौं, बरु प्रधानमन्त्री शेरबहादुर देउवाले नै संघीय चुनावसम्म गठबन्धन रहन्छ भन्नुभएको छ । कांग्रेसभित्रका केही साथीहरुले मतभिन्नता राख्न गठबन्धन नगर्ने भन्नुभएको होला । एउटा हातले ताली त बज्दैन नि ।”

संविधानले नै सहमति र सहकार्यमा जोड दिएकाले गठबन्धन अपरिहार्य रहेको उनले औंल्याए । उनले भने, “नेपालको संविधानले नै सहमति र सहकार्यको संस्कृति अघि बढाउन जोड दिएको छ । अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत सिद्ध गर्न सक्दैन । गठबन्धन गरेकै कारण अघिल्लो निर्वाचनमा वामपन्थीकै सहयोग र समर्थनमा बहुमत ल्याएका हौं । गठबन्धन एकपक्षीय रुपमा हुँदैन । कहाँ कहाँ गठबन्धन गर्ने अहिले टुंगो लागेको छैन । दुई महिनापछि सबै कुरा थाहा भइहाल्छ नि ।”

चिनियाँ विदेशमन्त्री माओवादी केन्द्रको चाहनामा भन्दा पनि नेपाल सरकारको निम्तोमा आउन लागेको उनले बताए । उनले भने, “कुनै पार्टी मिलाउन वा फुटाउन विदेशमन्त्री आउँदैनन् । छिमेकी देशका विदेशमन्त्रीको नियमित सद्भावना भ्रमण हो । यो भ्रमण माओवादीको चाहनामा भएको होइन । सरकारले दिएको निम्तोमा हुन लागेको हो ।”

एमसीसी माओवादीको आलोचनात्मक समर्थन रहेको र पार्टीभित्र यसको विवाद नरहेको जिकिर उनले गरे । शर्माले भने, “सुरुमा छलफल भएर आएको भए हुन्थ्यो । हामीले आलोचनात्मक समर्थन गरेका हौं । पार्टीभित्र एमसीसीको समस्या छैन ।”

नेता शर्माले माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएको आएकाले त्यसमा नजरअन्दाज नगर्न चेतावनी दिए । उनले भने,” अब निराशामात्र होइन, आशा पनि बाँड्नुपर्छ । परिवर्तन भएको छ तर जनताको अपेक्षा अनुसार परिवर्तन नभएको मात्र हो ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस