काठमाडौं ।
नेपाली प्रहरीको डिआईजीबाट राजीनामा दिएर एकाएक एमाले प्रवेश गरेर सांसद जितेका नवराज सिलवाल अहिले पार्टी नेतृत्वसँग त्यति सन्तुष्ट छैनन् ।
विज्ञापन
एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई केन्द्रीय सदस्यसमेत बनाएनन् । पछिल्लो समय सिलवालको सक्रियता त्यति देखिएको पनि छैन ।
विज्ञापन
ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका सिलवालले आगामी निर्वाचनमा टिकट नपाउने एमाले नेता कार्यकर्ता नै बताउँछन् । सो क्षेत्रमा चेतनाथ सञ्जेलको दाबी बढी देखिएको छ ।
त्यस्तै, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले पनि यसपटक आफू प्रतिनिधिसभा सदस्यमा उठ्ने बताउन थालेका छन् । तर, केही दिनयता ललितपुर १ मा नयाँ सेलिब्रिटीले टिकट फुत्काउने चर्चा चलेको छ ।
ती हुन् अभिनेत्री करिश्मा मानन्धर । करिश्मा ललितपुरको टौखेल निवासी हुन् । कलाकारिता गर्दागर्दै उनी बाबुराम भट्टराईको नयाँ शक्तिमा केन्द्रीय नेता बनिन् । देशभर भाषण गर्दै हिँडिन् ।
उनले नयाँ शक्ति छाडेको उहिल्यै हो । त्यो पार्टी अहिले अस्तित्वमा पनि छैन । चलचित्र क्षेत्रमा त्यति क्रियाशील नभएकी करिश्मा अहिले एमाले प्रवेशका लागि खुट्टा उचालिरहेकी छन् ।
केही अघिसम्म नेताहरूको उछितो काढ्ने करिश्मा अहिलेसम्म तीन–चारपटक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगिसकेकी छन् ।
ओली पनि के कम एमालेबाट राजनीति गर्ने हो भनेर उनलाई सोधे । बिहीबार नवराज सिलवालले करिश्मालाई बालकोट लगे । करिश्मा र नवराजको घर नजिकै पर्छ ।
त्यही भएर उनले एमाले प्रवेश गराउन खोजेका हुन् । तर, स्रोतका अनुसार करिश्मालाई ललितपुर १ बाट संघीय सांसद उठाउने ओलीको तयारी छ ।
आगामी वैशाख ९ गते करिश्मा एमाले प्रवेश गरेपछि त्यसपछि खेल सुरु हुने एमाले ललितपुरमा चर्चा सुरु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु