काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दाबी गरेका छन्।
विज्ञापन
नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सरकारले मेचीदेखि महाकालीसम्म पुल हालेको र प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बाटो बनाएकोसम्म दाबी गरे।
विज्ञापन
‘एमालेको सरकारले के गर्यो भन्नुपर्दैन। महाकालीमा पुल हालेको छ। मेचीमा पुल बनेको छ। कोसी पुल बनाएको छ। डडेल्धुरामा बाटो बनाएको छ। केही गर्नुपर्दैन, यता बनाएको पुल, पर्तिर बनाएको बाटो देखाइदिनुस्। नमूना सदरमुकाम हेर्नुस्। बन्दै गरेको राजमार्ग, पूर्वपश्चिम रेल मार्ग, विद्युत प्रसारण लाइन, कालिगण्डकी करिडोर देखाइदिनुस्। तपाईका घरटोल अगाडिका बाटो हेर्नुस्,’ उनले भने।
ओलीले आफू प्रधानमन्त्री हुँदा जाजरकोटको खानी, दैलेखको पेट्रोल खानीलगायतका काम अगाडि बढाएको बताए। नेपाललाई सुरुङमार्गमा प्रवेश गराएको उनको भनाइ थियो।
ओलीले नेपालको अबको बाटो आधुनिकीकरण, ग्लोबलाइजेसन, प्रविधि हुनुपर्ने तथा पछौटेपन र गरिबी अन्त्य, रोजगारी सिर्जना हुनुपर्ने बताए।
ओलीले नेपाल विद्धान पुर्खाको भूमि भएको नेपालीहरु उनका सन्तान भएको बताए। ‘त्यसकारण यो ऋषिमुनिहरुको शहर हो। हामी विद्धान पुर्खाका सन्तान हौं,’ उनले भने।
आजको प्रतिस्पर्धाको दुनियाँमा आफूहरु प्रतिस्पर्धी राजनीतिक प्रणालीमा प्रतिस्पर्धा गरिरहेका भन्दै ओलीले विद्यार्थीहरुलाई प्रतिस्पर्धाका लागि तयार बन्न अपिल गरे।
‘मान्छे मार्ने कुरामा हामीले प्रतिस्पर्धा गर्दनौं। मान्छे बचाउने कुरामा हामीसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘२६ सय वर्षअगाडि विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने बुद्ध यहीँ जन्मिनुभयो।’ प्रतिस्पर्धाका साथ अघि बढ्ने विद्यार्थी तयार पार्न उनले विद्यालयलाई सुझाए।
नेपाल सानो देश नभएको र हिमाल पहाड उचाईमामात्र होइन सभ्यता इतिहासमा अग्लो देश भएको उनको भनाइ थियो। ‘नेपाल विकास देश बन्छ। आज दुनियाँ जलवायु परिवर्तनबाट पीडित छ। हिमाल रहेन भने समुद्रको अस्तित्व रहँदैन। यसकारण नेपाल प्राकृतिक विविधता र खानीले भरिएको नेपालको विकास जरुरी छ,’ उनले भने।
फेसबुक प्रतिक्रियाहरु