सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर चर्काचर्की परेको छ ।
आज प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए ।
विज्ञापन
शुरुमै देउवाले नेकपा एसका अध्यक्ष नेपाललाई सोधेका थिए, ‘एमसीसीविरुद्ध आन्दोलन गर्ने निर्णय किन गर्नुभयो ?’
विज्ञापन
जवाफमा नेपालले भने, ‘यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न सकिन्न र पास पनि गर्नुहुँदैन, त्यसैले आन्दोलन नै गर्नुपरेको हो ।’
त्यसपछि देउवाले प्रचण्डलाई सोधे, ‘तपाईं एमसीसी प्रति यति धेरै अनुदार किन बन्दै जानुभएको हो ? अप्ठेरो परेको छ, बुझ्नुहुन्न तपाईंहरूले ।’
प्रचण्डले पनि उस्तै जवाफ दिए, ‘चुनावअघि एमसीसी पास हुन सक्दैन । त्यसका लागि अमेरिकासँग थप समय माग्न सकिन्छ । गठबन्धन जोगाउने नाममा हामीले एमसीसी संसदबाट पास हुन दिने कुरा हुँदैन ।’
प्रचण्ड र नेपालको जवाफ सुनेर देउवा झर्किए । उनले बारम्बार आफू अप्ठेरोमा परेको सुनाइरहे । प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखिरहे ।
पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।
हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु