चितवन ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्बासीलाई लालपुर्जा दिने काम नरोकिने बताउनुभएको छ । शुक्रबार चितवनको इच्छाकामना गाँउपालिका वडा नं. ७ जुटपानीमा ३१ घर परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
विज्ञापन
विज्ञापन
मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानमा सुकुम्बासीका लागि प्राप्त हकअधिकार स्थापित गर्न महोत्तरीबाट लालपुर्जा वितरणको कामलाई अगाडि बढाएको उहाँको भनाई थियो । “निर्वाचनले लालपुर्जा वितरणको काम रोकिदैन”उहाँले भन्नुभयो, “आचारसंहिताले रोक्ने काम बाहेक सबै काम निरन्तर हुन्छ । वास्तविक सुकुम्बासीले छिटोभन्दा छिटो पुर्जा पाउनु हुनेछ ।”
मन्त्री श्रेष्ठले वर्तमान सरकारले १२ हजार जनालाई लालपुर्जा वितरण गरी सकेको बताउनुभयो । वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्न केही कानुनी जटिलता आए मन्त्रालय संशोधन गर्न तयार रहेको बताउनुभयो ।
शुक्रबार वितरण गरिएको जग्गा विस २०२५ सालमा नापी गरी गाँउ ब्लक कार्यक्रममा राखिएको थियो । लालपुर्जा पाउनेहरु जनजाति समुदायका रहेको जिल्ला नापी कार्यालय भरतपुरका प्रमुख ग्रिसकुमार लाल कर्णले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय भूमि आयोग र इच्छाकामना गाँउपालिकाबीच सुकुम्बासीलाई जग्गा तथा अव्यवस्थित बसोबास बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमति पत्रमा हस्ताक्षर भएको छ ।
आयोगका तर्फबाट उपाध्यक्ष नहेन्द्र खड्का र गाँउपालिका अध्यक्ष गीताकुमारी गुरुङ्घले संयुक्त हस्ताक्षर गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु