पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति कौडीको भाउमा बेचिनबाट जोगाउन नारायणहिटीबाट बतास समूहलाई हटाएको बताएका छन् ।
विज्ञापन
संग्रहालयका अमूल्य सम्पत्ति बेचिनबाट रोक्न आफ्नो कदम सही रहेको मन्त्री आलेले दाबी गरे ।
विज्ञापन
होटल व्यवसायी महासंघ नेपालको नवौं वार्षिक साधारण सभाको शनिवार रूपन्देहीको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले नारायणहिटी संग्रहालयको सम्पत्ति कतैबाट पनि नासिन नहुने स्पष्ट पारे ।
‘राजतन्त्रकालको सम्पत्ति लुट्नका लागि गणतन्त्र ल्याएको होइन । नारायणहिटीको सम्पत्ति नासिनु हुँदैन,’ आलेले भने । जनताको शीर झुक्ने काम हुन नदिने उनले स्पष्ट पारे ।
आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ महिनामा सञ्चालन हुने बताए । मन्त्री आलेले भने, ‘विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) को लागि तयारीमा छौं । त्यसको गृहकार्य भइरहेको छ । अहिले विमानस्थलमा लाइटिङ, एयर कन्डिसन र इलेक्ट्रिक सप्लाइको काम भइसकेको छ ।’
विमान अवतरण गर्ने क्रममा केही भाग भारतमा छुने भएकाले भारतसँग पनि कुराकानी भइरहेको मन्त्री आलेले बताए ।
यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराइएको उनले बताए । विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु