काठमाण्डाै ।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी सङ्घसंस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभएको छ । आज शुक्रवार गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको आठाैँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएकाे हाे । उहाँले यसका लागि अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयाे ।
विज्ञापन
गृहमन्त्री खाणले सरकारी कार्यालयमा काम गर्ने अवधि बढाएपछि ‘ओभरटाइम’ को पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले अहिले नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाले कार्यालयको समयावधि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बढाएको बताउनुभयो ।
विज्ञापन
गृहमन्त्री खाणले भन्नुभयाे, ‘कतिपय जिल्ला प्रशासनले १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई आफैँले ९ देखि ५ बनाएका छन् । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थ मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ । राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन । कम्तीमा हामीले काम गर्ने समयावधि बढाउँदा ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता त दिनुपर्छ ।त्यसैले अर्थमन्त्रालय यसमा उदार बनाेस् ।’
गृहमन्त्री खाणले कर्मचारीलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीले सरकारलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकाले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीको भएकाले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गर्नुभयो ।
सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु