काठमाडौँ ।
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताएका हुन् ।
विज्ञापन
विज्ञापन
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले एमसीसीका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने बताए । उनले भने, ‘कतिपयले नबुझेर टीकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनासर्त आउँदैन ।’
अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिनासर्त आउँछ भन्ने भान परेको बताए ।
एमसीसीमा पनि सर्त रहेको भन्दै उनले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताए । एमसीसीको विषयमा टिप्पणी गर्दै उनले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताए ।
अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उनको चिन्ता थियो । यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाइ छ । यद्यपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उनको आरोप छ । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उनले यसको समाधान निर्वाचन नै भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा पाण्डेले नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए ।
फेसबुक प्रतिक्रियाहरु