कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाको हारका लागि आफ्नै समूहबाट विद्रोह गरेका नेताहरुको उम्मेदवारी निर्णायक हुन पुगेको छ ।
लामो समय देउवासँग निकट रहेका नेता विमलेन्द्र निधिले सभापतिको प्रतिस्पर्धामा जति मत प्राप्त गरेका छन्, त्यो मत प्राप्त गरेका भए देउवा सहजै पहिलो चरणको निर्वाचनबाटै सभापतिमा विजयी हुने थिए ।
विज्ञापन
पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २५८ मत प्राप्त गर्दा निधिले २ सय ४९ मत प्राप्त गरेका छन् । उता, सभापतिमा निर्वाचित हुन देउवालाई ८२ मत मात्र अपुग देखिएको छ । यस्तो स्थितिमा निधिले प्राप्त गरेको मत देउवाका लागि पर्याप्त हुने थियो ।
विज्ञापन
अर्काेतर्फ देउवाका निकटतम प्रतिद्वन्द्वी डा. कोइरालाले १ हजार ७२९ मत प्राप्त गर्दा संस्थापन समूहबाटै विद्रोह गरेका सिंहले ३७१ मत प्राप्त गरेका छन् । यस हिसाबले डा. कोइरालालाई सभापति निर्वाचित हुन ६११ मत अपुग देखिएको छ ।
सिंहले प्राप्त गरेको मत जोड्दा पनि पहिलो चरणको निर्वाचनमा डा. कोइरालाको विजयका लागि पर्याप्त हुने देखिदैन । तर, यदि सिंहले संस्थापन इतर समूहबाट विद्रोह गरेर उम्मेदवारी नदिएको भए डा. कोइरालाको पक्षमा अवश्य पनि मत वृद्धि हुने थियो ।
त्यसो हुँदा निधिको उम्मेदवारी कायम रहेको अवस्थामा डा. कोइरालाले पहिलो चरणमै विजय हासिल गर्न सक्ने थिए । तर, देउवाले जसरी निधिको विद्रोह रोक्न सकेनन्, डा. कोइरालाले पनि सिंहको उम्मेदवारी रोक्न सकेनन् ।
सोमबार (२७ मंसिर) मा भएको पहिलो चरणको निर्वाचनमा ४ हजार ६८१ मत खसेका थिए । कांग्रेसको विधानअनुसार सभापतिमा विजयका लागि खसेको कूल मतमध्ये ५० प्रतिशत मत हासिल गर्नुपर्ने बाध्यात्मक प्रावधान छ ।
तर, संस्थापन पक्षमा रहेका निधिको उम्मेदवारीका कारण देउवाले पहिलो चरणमा ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । संस्थापन इतर समूहबाट पनि सिंहको उम्मेदवारीका कारण डा. कोइराला देउवा भन्दा ५२९ मतले पछि परे ।
लामो समयसम्म देउवा निकट रहेका निधिले आफूलाई १३ औँ महाधिवेशनमै १४ औ महाधिवेशनको सभापति जिताउने सहमति गरेको बताउँदै आएका थिए ।
देउवाले सो सहमति स्वीकार नगरेपछि निधिले सभापतिमा उम्मेदवारी दिए । देउवाले निधिको शक्ति बुझ्न नसक्दा पहिलो चरणमा विजय हासिल गर्ने अवसरबाट चुके । प्रधानमन्त्री भएका बेला पहिलो चरणमा ५० प्रतिशत मत प्राप्त गर्न नसक्नु देउवाका लागि चुनौति हो ।
१३ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनमा देउवालाई विजयका लागि ११ मतमात्र अपुग भएको थियो । तर, निधिको उम्मेदवारीका कारण अहिले ८२ मत अपुग हुन पुग्यो ।
डा. कोइराला भन्दा ५ सय बढी मत प्राप्त गरेकाले दोस्रो चरणमा निर्वाचित हुन देउवालाई सहज त छ । तर, पहिलो चरणको निर्वाचनअघि नै निधिले देउवाका प्रतिद्वन्द्वीलाई समर्थन गर्ने बताएकाले देउवामाथिको चुनौती कायमै छ ।
फेसबुक प्रतिक्रियाहरु