कुलप्रसाद काफ्ले
चितवन।
विज्ञापन
विज्ञापन
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो ।
गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो । सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो ।
मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएकाले नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन् । बर्खामा नारायणीमा आउने बाढीले गैंडाको मस्कट बगाएर लैजाने जोखिम पनि उत्तिकै छ ।
२५ पुसदेखि ४ माघसम्म नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सवको मञ्च पनि मस्कटलाई पछाडि पारेर बनाइँदै छ । उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव गर्न लागेको हो ।
महोत्सवका लागि छेकबार, मैदान व्यवस्थापन र स्टल निर्माणको काम सुरू भएको छ । एमालेले मञ्च बनाएको स्थानमा बालुवा रहेकाले त्यस ठाउँलाई छाडेर मञ्च बनाउन लागिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
‘मञ्च निर्माण गर्दा पहिलादेखिको हाम्रो प्लानभन्दा बाहिर गयो भने बालुवा मात्र छ । अहिले सुरक्षाका लागि बनाइएको छेकबारभन्दा पछाडि बालुवा भएको ठाउँमा बालउद्यान हुन्छ । बाल उद्यानमा जानका लागि ३० देखि ४० फिटको गेट बनाउछौँ’, उनले भने ।
बाल उद्यानभन्दा पछाडि अर्काे छेकबार बनाइनेछ । मञ्च र बालउद्यानको बीचमा गैंडाको मस्कट पर्ने देखिन्छ । नेकपा एमालेले महाधिवेशनमा मञ्च बनाएको स्थानमा महोत्सवको बाल उद्यान बनाइने भएको हो । अहिले बालउद्यान बनाउने स्थानलाई छाडेर छेकबार लगाएर मैदान व्यवस्थापनको काम गरिँदै छ ।
एमालेले महाधिवेशनमा गैंडाको मस्कटलाई मञ्चको पश्चिमतर्फ राखेको थियो । महाधिवेशन सकिएपछि पार्टीको झण्डा निकालेर मस्कटमा नेपालको झण्डा राखिएको छ । मस्कटले पनि नदी किनारमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अपेक्षा छ । चितवन महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्ने खालका विभिन्न प्रदर्शनी र खेलहरू खेलाइन्छ । न्युज करखाना
फेसबुक प्रतिक्रियाहरु