संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्थानीय जनताको माग सुनुवाई नभइ ठेकेदार कम्पनीलाई भुक्तानी सिफारिस नदिन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार निरीक्षणका क्रममा आलेले विमानस्थलमा पानीले कटान गरेको विषयमा देखिएको समस्यालाई सम्बोधन नगरिएको गुनासो आएपछि प्राधिकरणका निर्देशक प्रदीप अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।
‘प्रदीपजी स्थानीयको माग सम्बोधन नभई भुक्तानी सिफारिस् नदिनुहोला । जबसम्म पानीको निकासको समस्या समाधान भएर पानीको व्यवस्थापन राम्रो हुँदैन ठेकेदार कम्पनीलाई हुने यससँग सम्बन्धित रकम भुक्तानीको सिफारिस् रोक्नुहोस् । साइडमा काम कमजोर भएको भन्ने गुनासा छन् । पानीको निकासका लागि बनाइएको संरचना किन भत्कियो ? पक्कै गुणस्तरको बनाएको भए त्यो भत्किने थिएन होला नी’ आक्रोशित हुँदै उनले भने ।
विज्ञापन
पानीको समस्याको समाधान सम्बन्धित ठेकेदार कम्पनी मार्फत गराउन र सिचाइको नहरका कारण देखिएको समस्या तत्काल सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरी हल गर्न उनले निर्देशन दिए । ‘यहाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भएर बाहिरबाट पानी आएर समस्या भयो भने त्यसको के अर्थ ? प्रधानमन्त्री ज्यू र अर्थमन्त्री ज्युले पनि समस्या समाधान गर्न भनिसकेको अवस्थामा बजेटले रोक्छ ? उनले प्रश्न गरे ।
विज्ञापन
यसअघि विमानस्थल आयोजना निर्माणको सम्बन्धमा देखिएको समस्या समाधानका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेशका आर्थमन्त्री रामजी बरालले समेत विमानस्थलको निरीक्षणका क्रममा निर्माण आयोजनाले समस्याका बारेमा जानकारी गराएको थियो । यसलाई सम्बोधन गर्ने आश्वासन निर्माण आयोजनाले पाएको छ ।
मन्त्री आलेले सिंचाई कारण देखिएको पानीको व्यवस्थापनको समस्या विमानस्थलसँग सम्बन्धित नै भएकाले सो विषय सिचाइ डिभिजन कार्यालयको हो भनेर नबस्न र तत्काल सिचाई डिभिजनलाई लागत स्टिमेट गरेर पठाउन भन्न निर्देशन दिए । रिठेपानीको डाँडा कटानमा भइरहेको ढिलाईप्रति उनले असन्तुष्टि जनाए । आफु वन तथा वातावरण मन्त्री भएको बेला उक्त डाँडा कटानको लागि अनुमति दिएको भन्दै कर्मचारीले अनावश्यक प्रक्रिया लम्ब्याएको उनले आरोप लगाए । ‘रिट्ठेपानी डाँडाका रुख कटानका लागि मैले स्विकृति दिएको हो । यसमा कर्मचारी बाधक देखिए । हुन त हामी राजनीतिज्ञ पनि त्यस्तै छौं । आधा कर्मचारी दोशी छन् आधा हामी पनि दोशी छौं भन्छु म’ उनले भने ।
८८ प्रतिशत काम सकियो, बाहिय समस्या समाधान भएनन्
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८८ प्रतिशत पुरा भएको निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख वीनेश मुनकर्मीले विमानस्थल निर्माण कार्यमा भइरहेको प्रगतिको बारेमा मन्त्री आलेलाई जानकारी दिएका हुन् । उनले विमानस्थल निर्माणका कामसंगै रिठेपानीको डाँडा कटानको काम, सिंचाई कार्यालय तर्फबाट गरिनुपर्ने काम, आयाल निगमले आयाल डिपो निर्माण गर्नुपर्ने काम र पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिलसाईड सार्न ढिलाई भएको बताए ।
रिठेपानी डाँडा कटान सम्बन्धि काम ठोस रुपमा अगाडि बढ्न नसकेको उनले जानकारी दिए । उक्त डाँडा कटानका लागि नापी कार्यालय निजी तथा सरकारी वन क्षेत्रको सिमांकन भइए वन डिभिजन कार्यालयबाट रुखको लगत तयार भएको अनि टाँचा लगाउने कार्य सम्पन्न गरेर अहिले पुरक इआइए गर्ने काम भइरहेको छ । उनले रुख कटानको काम तीव्र गतिमा गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्माण गर्न नागरिक उड्डयन प्राधिकरणलाई क्यानले आग्रह गरिसकेको उनले जानकारी दिए ।
त्यसैगरी नेपाल आयाल निगमले पनि समयमा आयल डिपो निर्माणको काम नथालेको उनले बताए । आयोजनाको तर्फबाट निगमसँग निरन्तर बैठक बसेको र पत्राचार तथा फोनको काम निरन्तर भइरहेको उनले जानकारी दिए । त्यसैगरी पानीको निकास र पोखरा महानगरले ल्याण्डफिल साइड समयमा सार्नुपर्नेमा त्यो काम समेत हुन नसकेको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु