शुक्रबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • समाचार
  • अर्थमन्त्री जनार्दन शर्मा एक्सनमा – दुर्गमका युवाले व्यवसाय कर्जा सजिलै पाउनेगरी कार्यविधि बनाउनू
समाचार

अर्थमन्त्री जनार्दन शर्मा एक्सनमा – दुर्गमका युवाले व्यवसाय कर्जा सजिलै पाउनेगरी कार्यविधि बनाउनू

Renu Dahal

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नवप्रवर्तनीय (स्टार्टअप) व्यवसाय गर्न खोजेका दुर्गमका युवाहरूले पनि सजिलै कर्जा पाउनेगरी कार्यविधि बनाउन निर्देशन दिएका छन् । स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि, २०७८ बारे अर्थ मन्त्रालयमा छलफल हुँदा अर्थमन्त्रीले छिटोछरितो कार्यविधि ल्याउन निर्देश गरेका हुन् ।

हालको कार्यविधिमा रहेको बोझिलो व्यवस्थाका कारण स्टार्ट–अप अर्थात नवप्रवर्तनीय व्यवसायको प्रवद्र्धन गर्न नसकिने विषयविज्ञ र सरोकारवालाहरूले बताएका थिए । अर्थमन्त्री शर्माले दुर्गम बस्तीका युवाहरूले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउन सक्ने गरी कार्यविधि बनाउन निर्देशन दिएका हुन् ।

विज्ञापन

अर्थमन्त्री शर्माले भने, ‘नयाँ व्यवसाय गर्न चाहने युवाहरू कागज हेरेरै निराश हुने खालको झन्झटिलो कार्यविधि नबनाऔंँ । संक्षिप्त र सरल कार्यविधि बनाएर कार्यक्रम लागू गरौँ ।’ कार्यविधिमा भारी भर्कम संरचना र समितिहरू नबनाइ राष्ट्रिय योजना आयोगका सचिवको नेतृत्वमा छरितो टीम बनाएर सोको निर्णयबमोजिम स्टार्ट–अप व्यवसाय कर्जा उपलब्ध गराउन उपयुक्त हुने धारणा शर्माले राखे ।

विज्ञापन

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले स्टार्ट–अप व्यवसाय नेपालको लागि नौलो कार्यक्रम भएकोले यसको सिद्धान्त र अन्तराष्ट्रिय अभ्यासहरूलाई समेत ध्यान दिएर सरल कार्यविधि बनाउनुपर्ने बताए । आयोगका सदस्य सचिव केवप्रसाद भण्डारीले नयाँ–नयाँ अवधारणा बोकेका उत्साही युवाहरूलाई सजिलैसँग स्टार्ट–अप कर्जा उपलब्ध गराउने खालको सरल कार्यविधि बनाउनुपर्नेमा जोड दिए । अर्थसचिव मधुकुमार मरासिनी र राजश्व सचिव कृष्णहरि पुष्करले नयाँ व्यवसायीहरूलाई लक्षित गरेर कार्यविधि बनाउनुपर्ने बताए ।

नेपालमा आर्थिक वर्ष २०७६÷७७ देखि स्टार्ट–अप व्यवसाय संचालन निम्ति अनुदान उपलब्ध गराउने गरी सरकारले कार्यक्रम ल्याएको थियो । सो बमोजिम राष्ट्रिय योजना आयोगले अनुदान सम्बन्धी कार्यविधि बनाएर आवेदन समेत संकलन गरेको थियो । त्यसमा ६९९ जनाले निवेदन दिएको आयोग सदस्य फुँयालले जानकारी दिए ।

अघिल्लो सरकारले आ.व. ७७/७८ मा २ प्रतिशत व्याज दरमा स्टार्ट–अप कर्जा उपलब्ध गराउने गरी कार्यक्रम ल्याएको भएपनि त्यसको लागि बजेट विनियोजन नगरिएको कारण कार्यन्वयनमा आउन सकेको थिएन । वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत आ.व. २०७८/७९ का लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेपछि स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यक्रम कार्यान्वयनमा आउन लागेको हो ।

प्रतिस्थापन बजेटमा भने एक प्रतिशत सहुलियत व्याजदरमा स्टार्ट–अप कर्जा प्रदान गर्ने व्यवस्था गरिएको छ । नयाँ कार्यक्रम संचालन गर्दा यसअघि परेका आवेदनकोसमेत सम्बोधन हुनेगरी कार्यविधि बनाउन पनि अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस