शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • काँग्रेस-माओवादी मिल्दा मात्र शान्तिको सन्देश जान्छ : पुन
समाचार

काँग्रेस-माओवादी मिल्दा मात्र शान्तिको सन्देश जान्छ : पुन

रोल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सशस्त्र माओवादी जनयुद्धको उद्गम थलो रोल्पाबाट काँग्रेस र माओवादी सहकार्यको सन्देश दिन चाहेको बताएका छन्।

पुनले रोल्पामा माओवादी एक्लैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न सक्ने बलियो आधार हुँदाहुँदै राष्ट्रियस्तरमै दुई दलबीचको सहकार्यको विश्वासिलो वातावरण बनाउन मिलेर उम्मेदवारी दिइएको बताए। विगतमा दुई फरक ध्रुवमा रहेर भिडेका शक्ति काँग्रेस र माओवादी मिल्दा मात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको भनाइ थियो।

विज्ञापन

रोल्पा प्रदेश (ख) मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। माओवादी जनयुद्धमा आमनेसामने भएका दुई शक्तिबीचको सहकार्यले मात्र शान्ति प्रक्रियालाई पूर्णता दिन र समाजमा मेलमिलाप स्थापित गर्न सहज हुने उनको भनाइ थियो।

विज्ञापन

‘जुन शक्तिका बीचमा लडाइँ भयो ती शक्ति मिलेर मात्र समाजमा शान्ति कायम हुने हो,’ गठबन्धन दलद्वारा रोल्पामा घर्ती गाउँमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा पुनले भने, ‘जसलाई द्वन्द्वको घाउले दुखाएको छ, शान्तिको महत्त्व उसलाई जति अरूलाई थाहा हुँदैन।’

पुनले काँग्रेस-माओवादी सहकार्य चुनावपछिको सरकारका लागि मात्र नभई संविधान र लोकतन्त्र मास्न र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि भएको तर्क गरे। ‘पटक/पटक संविधान र लोकतन्त्र मास्ने प्रयास भयो,’ उनले भने, ‘हिजो हामी मिलेर त्यो प्रयास असफल पारेका हौं। संविधान र व्यवस्थाको रक्षाका लागि हामी मिल्नुपर्ने बाध्यात्मक अवस्था आएको छ।’

उनले गठबन्धनको उद्देश्य मुलुकमा दिगो शान्ति, राजनीतिक स्थायित्व तथा विकासको तीव्रता भएको बताए। माओवादी र काँग्रेस दुवै दलका कार्यकर्तालाई उनले विगतका तिक्तता बिर्सिएर राष्ट्रिय आवश्यकताका आधारमा मेलमिलाप र सहकार्यको हात बढाउन अपिल गरे। पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन सत्तारूढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यसअघि ०७४ को निर्वाचनमा पनि उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस