सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • मुलुकलाई जिताउन गठबन्धनले जित्न पर्छ : कृष्णबहादुर महरा
समाचार

मुलुकलाई जिताउन गठबन्धनले जित्न पर्छ : कृष्णबहादुर महरा

घोराही। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन्। संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए। गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताए।

देश अप्ठ्यारोमा परेको बेला जहिले पनि काँग्रेस र माओवादीले निकास दिँदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताए। घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको जरुरी रहेकोले गठबन्धनले सक्षम र कुशल नेताहरूलाई नगरमा पठाएको उनले बताए। गठबन्धन पराजय भए मुलुकले नै पराजय ब्यहोर्ने भन्दै नेता महराले मुलुकको आगामी भविष्य निर्धारणका लागि गठबन्धनले जित्नुपर्ने बताए। प्रतिगमनकारीहरू जनताको अधिकारमाथि कू गरी मुलुकलाई अन्योल र अस्थिरतातर्फ लैजान खोजेकाले प्रतिगमनकारीहरू विरुद्ध सशक्त भई प्रतिकार गर्नुपर्ने बेला आइसकेको बताए।

विज्ञापन

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनमा आबद्ध दलहरुबीच सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमनकारी शक्तिलाई हराउन र गठबन्धनका उम्मेदवारहरू जिताउनु पर्नेमा जोड दिए। प्रतिगमनकारीबाट मुलुकलाई जोगाउन सत्तारुढ गठबन्धनले स्थानीय सरकारदेखि केन्द्रसम्म प्रतिगामी शक्तिबाहेकको सरकार बनाउनु पर्ने उनको भनाइ थियो। कार्यक्रममा नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले गठबन्धनको जीत नै मुलुकको जीत भएको बताइन्। मुलुकलाई भविष्यको यात्रा तय गर्ने साझा संकल्पका साथ गठबन्धन उभिएको भन्दै देवकोटाले गठबन्धनकारी शक्तिका बीचमा भावनात्मक एकताको आवश्यकता रहेको बताइन्।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस