नेकपा (एमाले)का केन्द्रीय सचिव लेखराज भट्टले आफू अहिले एमालेमा भए पनि विगतको विरासतपूर्ण इतिहास, धरातल र माओवादी जनयुद्धमा सहिदले गरेको बलिदान, बेपत्ताहरू र घाइते–अपाङ्ग योद्धाहरू प्रतिको जिम्मेवारी नभुलेको बताएका छन् ।
विज्ञापन
नेता भट्टले आफू पनि जनयुद्धको घाइते भएको तर कतै दर्ज नभएको बताउँदै भने,“घाइते तथा अपाङ्गहरूको पीडा कस्तो हुन्छ भन्ने मलाई पनि थाहा छ, त्यही भएर म सत्ताको जिम्मेवारीमा गएको बेला मैले ती साथीहरूको पक्षमा धेरै काम गर्ने कोसिस गरेको थिएँ ।”
नेता भट्टले आफू पनि जनयुद्धको घाइते भएको बताउँदै त्यो पीडाबोध गरेको बताएका थिए । उनले जनयुद्धका पीडितलाई न्याय दिन आफू जहाँ भए पनि लागिपर्ने बताए । जुन उद्देश्यको लागि जनयुद्ध सुरु गरिएको त्यो ठाउँमा पूर्वमाओवादीहरू नरहेको भट्टले जिकिर गरे ।
बुधबार संवाद डबलीमा ‘सहिद तथा बेपत्ता योद्धाहरूको योगदान र राज्यको दायित्व’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्धको मूल नेतृत्वको गद्दारीकै कारण पीडितहरूले न्याय पाउन नसकेको बताए । उनले आफ्नो पार्टी सहिद, बेपत्ता र घाइतेको पक्षमा आवाज उठाउँदै आएको बताए । कार्यक्रममा बोल्दै नेता बुढामगरले आफ्नो पार्टीले जनयुद्धका एजेण्डालाई नछोडेको समेत दाबी गरे ।
जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले यो राज्यसत्ता बेइमानी भएकोले जनयुद्धका पीडितहरूले न्याय नपाएको बताइन् । जनयुद्धमा महिलाहरूले उच्च बलिदान गरेको बताउँदै उनीहरूका परिवारलाई त्यो अनुभूत हुन नसकेको बताइन् । उनले आफू पनि जनयुद्धमा सहभागी भएको यात्री भएको बताउँदै पीडितको न्यायको लागि आफू लाग्ने बताइन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य दिनेश शर्माले जनयुद्धकै कारण नेपालमा गणतन्त्र आए पनि त्यसलाई अपराधीकरण गरिएको बताएन । उनले जनयुद्धको मूल नेतृत्वले एजेण्डालाई अलपत्र पारेकै कारण सहिद, बेपत्ताका परिवार र घाइते योद्धाले गर्वको अनुभूति गर्न नपाएको बताए ।
नेकपा (माओवादी केन्द्र) युवा नेता लेखनाथ न्यौपाने राज्यले जनयुद्धका उपलब्धिहरूलाई जिम्मेवारीपूर्ण रूपमा नलिएकै कारण समस्या भएको बताए । विस्तृत शान्ति सम्झौता हुँदा गरेका प्रतिबद्धता राज्यले इमानदारीपूर्वक गरेका कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले तत्कालीन विद्रोही र राज्य पक्ष दुवै जिम्मेवार नभएकै कारण जनयुद्धको क्रममा बेपत्ता पारिएका नागरिकको खोजी नभएको बताए ।
फेसबुक प्रतिक्रियाहरु