आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘प्रचण्डको आदेशमा ताली मात्र होइन, बन्दुक पनि पड्काएको हो’ : सुबोध शेर्पाली
समाचार

‘प्रचण्डको आदेशमा ताली मात्र होइन, बन्दुक पनि पड्काएको हो’ : सुबोध शेर्पाली

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन सकिएको छ। अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहोरिएका छन् ।

 

विज्ञापन

प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति समेत घोषणा गरे, जसमध्ये एक हुन्, सुबोध शेर्पाली ।

विज्ञापन

 

 

यसभन्दा अगाडि शेर्पालीको चर्चा वाईसीएल अध्यक्षमा थियो। तर पार्टीको निर्णयअनुसार उनी अध्यक्ष बन्न सकेनन्।

संगठनमा बलियो छाप रहेका शेर्पालीलाई अन्याय गरिएको भन्दै त्यतिखेर व्यापक असन्तुष्टि देखिएको थियो ।

 

अहिले तिनै शेर्पाली केन्द्रीय सदस्य बनेका छन् ।

केन्द्रीय समितिको पहिलो बैठकमा सहभागी भएर निस्किएपछि शेर्पालीले प्रचण्डले वाचन गरेको नामावलीमा ताली पड्काएर महाधिवेशन सकिएको भन्ने आलोचनाको खण्डन गरे ।

उनले प्रचण्डको आदेशमा आफूहरूले तालीमात्र होइन बन्दुक पनि पड्काउने गरेको बताए ।

‘प्रचण्डको आदेशमा ताली मात्र हैन, बन्दुक पनि पड्काएको हो । गणतन्त्र नेपालका लागि बन्दुक पड्काउने निर्णय कुनै महाधिवेशनको चुनावले गरेको थिएन,’ उनले भने ।

निर्वाचन लोकतन्त्रको अंग भएपनि खास परिस्थितिमा नेतृत्वले लिने पहलकदमी नै अन्तिम हुने उनको तर्क छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक जस्ता माओवादीका मुद्दा नेतृत्वकै पहलकदमी हो,’ शेर्पाली भन्छन्, ‘कम्युनिस्ट पार्टीमा कहिलेकाहीँ परिस्थिति अनुसार चल्नुपर्छ । नेता र नेतृत्व प्रधान हुन पनि सक्छ। आजको माओवादी आन्दोलनको आवश्यकता जे थियो, महाधिवेशनमा त्यही भएको छ।’

शान्ति प्रक्रियामा आएदेखि पार्टीको स्वरूप र गतिविधिमा फरक आए पनि आफूहरूको लडाईं अझै जारी रहेको उनको भनाइ छ ।

केन्द्रीय सदस्य कसैले उपाहार स्वरूप दिएको नभई त्यो आफ्नो योगदानमा आधारित रहेको उनले जिकिर गरे ।

‘सबै कमरेडहरू योग्य हुनुहुन्छ । आज देशको परिस्थिति राजनीतिक रूपमा गम्भीर छ । यस्तोमा चुनावभन्दा पनि प्रचण्डको विचारधारालाई प्रमुख मानिएको छ र मान्नुपर्छ,’ शेर्पालीले थपे, ‘एउटा युवा हुनुको नाताले समाजवादी आन्दोलनमा पार्टीको गतिविधि अगाडि बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हाम्रो प्रमुख भूमिका रहनेछ ।’

शेर्पाली माओवादी जनयुद्धमा होमिएका योद्धा समेत हुन् ।

१० वर्षे जनयुद्धमा उनले स्वयंसेवक दल सदस्य , सुरक्षा दलको जय इलाका कमाण्डर, हुँदै छापामार दल (स्क्वाड) भीसी २ नम्बर प्लाटुन बी सेक्सन भीसी हुँदै जनमुक्ति सेना नेपालको प्लाटुन कमान्डर, कम्पनी भीसी, कम्पनी कमान्डर हुँदै २०६१ सालतिर गण्डक अभियान बटालियन कमान्डरको भूमिका निभाएका थिए।

उनी जनमुक्ति सेना नेपालमा काम गर्दा पार्टी शाखा, साधारण शाखा र सैन्य उपब्यूरो सदस्य हुँदै नेकपा माओवादीको तत्कालीन मगरात राज्य सदस्य, संघीय संरचनापछिको प्रदेश सदस्य, नेकपा प्रदेश सदस्य हुँदै २०६३ पुसदेखि वाईसीएल रुकुमको १ नम्बर निर्वाचन क्षेत्र इञ्चार्ज भएका थिए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी एकीकरणपछि राष्ट्रिय युवा संघ नेपालको विधान लेखन कार्यदल सदस्य र पछि वाईसीएल नेपालको सहसंयोजक बनेका थिए ।

शेर्पाली २०६४ को संविधान सभा निर्वाचनको युवा परिचालन कमान्डर र २०७० को चुनावी युवा परिचालन कमान्डर समेत थिए।

शेर्पाली वैचरिक युवा नेता एवं कुशल संगठकका रूपमा चिनिँदै आएका छन्। उनी युवा माझ निकै लोकप्रिय छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस