काठमाडौं ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन निर्णायक घडीमा पुगेको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति भन्दै २९९ केन्द्रीय समिति घोषणा गर्ने सम्भावना बढेको छ ।
विज्ञापन
निर्वाचन प्रक्रिया आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसलाई प्रचण्डले सहमतिबाट भन्दै कार्यसमिति घोषणा गर्न लागेको बुझ्न थालिएको छ ।
केन्द्रीय समिति घोषणा गरी पदाधिकारी समेत चयन गर्ने तयारी भएको छ । प्रचण्डले चाहे जसरी पदाधिकारी घोषणा हुने निश्चित नै छ ।
पदाधिकारीमध्ये अध्यक्षमा प्रचण्डलाई चुनौती दिने कोही देखिएको छैन । उनले चाहेकै व्यक्ति उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव जस्ता महत्वपूर्ण पदमा पुग्नेछन् ।
विशेषगरी कम्युनिस्ट पार्टीको शक्तिशाली पद मानिएको महासचिवमा मुख्यगरी तीनजना आकांक्षी छन् । अर्थमन्त्री जर्नादन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र पूर्वअर्थमन्त्री वर्षमान पुन आकांक्षी हुन् ।
प्रचण्डले पछिल्लो समय जिम्मेवारी दिएको देख्दा शर्मालाई महासचिवको जिम्मेवारी जाने सम्भावना पनि छ । तर, जातीय मुद्दामा जोड दिदै आएको माओवादीभित्र अध्यक्ष र महासचिव एउटै जातबाट हुँदा प्रश्नहरु उठ्न सक्छ । अर्कोतर्फ शर्मा सरकारमा पनि छन् ।
महिलालाई पहिलोपटक मूलधारको कम्युनिस्ट पार्टीको महासचिव बनाएर महत्वपूर्ण सन्देश दिने प्रचण्डको तयारीबारे पनि चर्चा छ । यस्तो अवस्थामा पम्फा भुसालले बाजी मार्नेछिन् । तर, शर्मा र भुसाललाई उपाध्यक्षमा लगेर वर्षमान पुनलाई महत्वपूर्ण जिम्मेवारी दिने प्रचण्डको तयारी पनि देखिदैछ ।
पुन यतिबेला चीनमा छन् । उनले प्रचण्डको निर्देशनमा चिनियाँ नेताहरुसँग महत्वपूर्ण भेटहरु गरेका छन् । उपचारका लागि सेन्जेनमा रहेका पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपप्रमुख समेत रहेका झाओसँगको भेट अर्थपूर्ण मानिएको छ । माओवादीको चीनसँगको निकटता र वर्षमानले प्रचण्डको निर्देशनबाट गरेको भेटले महाधिवेशनमा नभएपनि उनलाई चर्चामा पुर्याएको छ ।
चीनमा बसेरै वर्षमानले महासचिवको जिम्मेवारी पाउने सम्भावना बढेर गएको छ । विरामी भएर उपचाररत वर्षमानप्रति भावनात्मक समर्थन पनि बढेको छ । यसले पनि उनको सम्भावना बढेको हो । माओवादी जनयुद्धको आधारक्षेत्र रोल्पाबाट निर्वाचित वर्षमानलाई नै महासचिवमा बढाउनसक्ने अवस्था बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु