काठमाडौं।
नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले जति बिग्रे पनि सबभन्दा क्रान्तिकारी माओवादी केन्द्र नै भएको ठोकुवा गरेका छन् ।
विज्ञापन
पत्रकारसँग कुरा गर्दै नेता सापकोटाले भने, “माओवादीको जनयुद्धकालीन छवि केही धुमिल भएको छ । तर जति बिग्रे पनि सबभन्दा बढी क्रान्तिकारी माओवादी केन्द्र नै हो । महाधिवेशन लगत्तै माओवादी एक नम्बर पार्टी बन्छ ।”
चुनाव नहुँदै एक नम्बर पार्टी कसरी बनाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, “हामी एक नम्बर पार्टी बनाउने व्यापक तयारीमा लाग्छौं । संगठनका हिसाबले दोस्रो पार्टी पहिलो हुन सक्दैन, तपाईं कसरी कसरी भन्नुहुन्छ ?” छिटै वामपन्थी ध्रुवीकरण देखापर्ने उनको दाबी छ ।
उनले युवालाई २० प्रतिशत स्थान दिने माओवादीको निर्णय अरुले पार्टीले गर्न नसक्ने पनि बताए । उनले थपे, “अब नेकपा माओवादी केन्द्रमा २० प्रतिशत युवाको प्रतिनिधित्व हुन्छ । यो सबै दलको भन्दा अग्रगामी निर्णय हो । अरु दलले युवाका लागि विशेष निर्णय गरेका छैनन् ।”
उनले यो महाधिवेशनमा प्रचण्ड निर्विकल्प रहेको दाबी गरे । उनले भने, “कसैलाई प्रचण्डसँग रिस उठेको छ भने फरक कुरा हो नत्र यो महाधिवेशनमा उहाँ निर्विकल्प हो । बाँकी नेतृत्वको शृंखला हामी तयार गर्छौं । अब पार्टीमा हस्तान्तरणले मात्र पुग्दैन, पुस्तान्तरण जरुरी छ । हस्तान्तरणका लागि नेतृत्वको शृंखला तयार हुनुपर्यो । यो महाधिवेशन पुस्तान्तरणको तयारी हो ।”
हाम्रा तल्ला एकाईमा चुनाव भएका छन् । तर नेकपा एमाले र नेपाली कांग्रेस जस्तो होइन, प्यानलरहित भद्र चुनाव गरेका छौं । फोटो टाँस्दै, भोट माग्दै हिँडेका छैनौं । अस्वस्थ प्रतिस्पर्धा भएका छैनन् । सहमति पनि नराम्रो होइन ।”
माओवादी केन्द्रको महाधिवेशन राजनीतिक बहसमा केन्द्रित हुने उनले बताए । उनले भने, “हामीले हारालुछ, कुटाकुट र हानाहान गरेका छैनौं । अरु पार्टीले को नेता भन्नेबाहेक बहस गरेनन्, हामी नेताको होइन, राजनीतिक र वैचारिक बहस गरिरहेका छौं ।”
एमाले अध्यक्ष केपी ओलीले एमालेबाहेक कम्युनिस्ट छैन, माओवादी कम्युनिस्ट नै होइन भन्नुभएको छ नि भन्ने पत्रकारको प्रश्नमा सापकोटाले भने, “केपी ओलीले के भन्छन् भन्ने कुराले हामीलाई के फरक पर्छ र ? उनी के हुन् र कति बेबकुफ छन् भन्ने नेपाली जनतालाई थाहा छैन र ?”
फेसबुक प्रतिक्रियाहरु