काठमाडौं ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का भातृ संगठनका प्रमुखहरुले पार्टीको राष्ट्रिय सम्मेलनमार्फत लिईने नीति र विचारले नै देशलाई डोर्याउने बताएका छन् । र, उनीहरुले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।
विज्ञापन
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसिएलका अध्यक्ष सुमन देवकोटा र मजदुर संगठनका प्रमुख जगत सिम्खडाले यस्तो बताएका हुन् ।
अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आगामी पुस ११ देखि १३ गतेसम्म हुने हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलन विचारको सम्मेलन हुने बताईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पार्टीको दस्तावेज लेखन र यसलाई अन्तिम रुप दिन व्यस्त रहेको समेत सिंहले जानकारी दिईन् । प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजलाई प्रतिनिधिहरुका बीचमा छलफल गरेर मुर्तरुप दिईने पनि उनले बताईन् ।
अब माओवादी नयाँ कार्यदिशा बोकेर जनतामाझ जाने उनको भनाई थियो । उनले माओवादी हरायो, कमजोर भयो र चुक्यो भन्नेहरुलाई पनि यो राष्ट्रिय सम्मेलन नै जवाफ दिने पनि बताईन् । कुनै समयमा नेपाली कांग्रेस ठुलो पार्टी बन्यो, कुनै समय माओवादी ठुलो बन्यो भन्दै उनले आखिर जुन ठुलो पार्टी बनेपनि माओवादी र त्यसमा पनि प्रचण्डको एजेण्डामा हिँडेको दाबी गरिन् । उनले भनिन्,‘आज पनि देश माओवादीले लिएको एजेण्डा र देखाएको बाटोमा हिँडेको छ ।’
उनले देशमा तत्कालिन अवस्थामा विद्यमान रहेको सामन्ती व्यवस्था राजतन्त्रलाई फाल्नको लागि नै आफ्नो पार्टीले जनयुद्ध गरेको पनि स्मरण गराईन् । उनले ०५२ सालमा अध्यक्ष प्रचण्डले सुरुवात गरेको विद्रोह आज सफल भएको पनि दाबी गरिन् । अध्यक्ष प्रचण्डले राज्यले एउटै धर्म बोकेर हिँड्न हुँदैन भनेर आवाज उठाएकै कारण आज मुलुकमा धर्मनिरपेक्षता आएको पनि बताइन् । मुलुकमा भएका सबैखाले परिवर्तन र अग्रगमनकारी एजेण्डा माओवादीकै कारण हाँसिल भएको भन्दै यसमा माओवादी नै हकदार भएको पनि अध्यक्ष सिंहले स्पष्ट पारिन् ।
उनले माओवादीले बोकेकै एजेण्डा र ल्याएको परिवर्तनका कारण महिला राष्ट्रपति बन्ने अवसर निर्माण भएको पनि उल्लेख गरिन् । उनले भनिन,‘यी सबै माओवादीको एजेण्डा हुन् । सिंहले अहिलेपनि नेपालका सबै राजनीतिक दलहरु माओवादीले बोकेको राजनीतिक मुद्दाअनुसार नै चलेको दाबी गरिन् ।
उनले माओवादी कुनै हालतमा आजपनि कमजोर नभएको जिकिर गरिन् । उनले भनिन्,‘हाम्रो पार्टी आजपनि कमजोर छैन् । अध्यक्ष कमरेड प्रचण्डले ल्याएको नीति कार्यान्वयन गर्न पार्टी अहिलेपनि उहाँकै नेतृत्व आवश्यकता छ । प्रचण्डले माइतीघरमा बसेर आन्दोलन नगरेको भए अहिले गणतन्त्र हराइसक्थ्यो ।’
प्रचण्ड नै आज माओवादीको निर्विकल्प नेतृत्व रहेको पनि सिंहले बताईन् । उनले भनिन्–‘हाम्रो पार्टीको नेतृत्वको लागि पार्टीका अरु नेताहरुले दाबी गर्नुहोला जस्तो मलाई लाग्दैन् ।’ आजको दिनमा समाजवादी कार्यदिशाको जरुरी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा समाजवादी कार्यदिशा निर्माण गरेर पार्टी अगाडि बढ्ने बताइन् ।
फेसबुक प्रतिक्रियाहरु