नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलवार साझ अबेरसम्म मतदान चलिरहेको छ । दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएदेखि नै राति ८ बजेसम्म सभापतिका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल राष्टिय सभागृहको गेट नजिकै अड्डा जमाएर बसेका छन् ।
विज्ञापन
एकातिर डा. शेखर कोइराला लगायतको प्यानल उभिएरै भोट मागिरहेको छ भने अर्को तर्फ देउवा कुर्सीमा बसेर भोट मागिरहेका छन् । देउवाले भ्याएसम्म सबै मतदातालाई नमस्कार फर्काइरहेका छन् ।
केहीबेर दोस्रो चरणको चुनावमा समर्थन गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधिसँग उभिएर हात उठाउँदै कार्यकर्तालाई अभिवादन गरिरहेका देखिन्छन् । दुवै पक्षले कार्यकर्तालाई फकाउने प्रतिस्पर्धा गरेका छन् ।
यसैक्रममा देउवाले सुन्ने गरी कार्यकर्तालाई ‘साथीहरु यसपटक परिवर्तनको पक्षमा भोट हाल्नुस् है !’ भनेपछि सभापतिका प्रत्यासी देउवाले गगनतिर हेरेर हाँसे ।
दुवै पक्षबीच एकले अर्कोले सुन्ने गरी भोट माग्ने प्रतिष्पर्धा चलिरहेको छ । देउवासँग उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्का उभिएर भोट मागिरहेका छन भने शेखरसँगै चन्द्र भण्डारी, गगन थापा, मीनेन्द्र रिजाल लगायत उभिएर भोट मागेका छन् ।
पहिलो चरणमा भएको मतदानमा कसैले बहुमत ल्याउन नसकेपछि कांग्रेस सभापतिको लागि दोस्रो चरणको निर्वाचन भएको होे । मंगलवार राति ८ बजेसम्म ३ हजार ८ सय मत खसिसकेको छ । सोमवारको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
फेसबुक प्रतिक्रियाहरु