काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पारित नहुने दाबी गरेका छन् ।
विज्ञापन
पत्रकारसँग कुरा गर्दै नेता गुरुङले भने, “एमसीसी आर्थिक सहायतासम्बन्धी सम्झौता हो भने संसद्मा प्रस्तुत गरेर पारित गर्ने परम्परा छैन । अमेरिकाको इन्डो-प्यासिफिक सैन्य रणनीति हो भने यसलाई कदापि स्वीकार्न सकिँदैन ।”
उनले आजदेखि सुरु हुने संसद् अधिवेशन चल्ने, चल्ने प्रमुख प्रतिपक्ष नेकपा एमालेको हातमा रहेको औंल्याए । उनले भने, “संयुक्त सदन सञ्चालन हुन्छ कि हुँदैन भन्ने कुरा एमालेमा भर पर पर्छ । उसले विगत केही महिनादेखि निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।
हामीले सदन खुलाउन आग्रह गरिरहेका छौं । एमाले संसद् खुलाउन लाग्यो भने कार्यसूची अघि बढ्ला । अवरोध रहिरह्यो भने प्रमुख प्रतिपक्षबिना सदन नचल्ने परम्परा छ ।”
सत्तापक्षले प्रतिपक्षी दलसँग किन कुरा नगरेको भन्ने पत्रकार धमलाको प्रश्नमा माओवादी केन्द्रका नेता गुरुङले भने, “हामीले कुरा नगरेको भन्ने होइन । एमाले र कांग्रेसको महाधिवेशनका व्यस्तता पनि बढ्यो । संसद् खुलाउन प्रयत्न नै नभएको भन्ने कुरा साँचो होइन । संसद् खुलाउन कुनै कसर बाँकी राख्नुहुन्न ।”
संसद् अवरोध कायम रहेमा संविधान र व्यवस्था नै नचल्ने जोखिम रहेको उनले औंल्याए । उनले भने, “यो संविधानलाई स्वीकार गरिसकेपछि सदन चल्न नदिनु संविधान र सिस्टमलाई डेडलक बनाउनु हो । प्रणालीभित्रै बसेर फरक मत राख्न सकिन्छ तर संसद्लाई नै अनिर्णयको बन्दी बनाउन मिल्दैन ।”
हिउँदे अधिवेशनमा बिजनेसको समस्या नरहेको उनले बताए । उनले थपे, “प्रतिनिधिसभामा ४३ वटा विधेयक पहिल्यै छ । राष्ट्रिय सभामा १५ वटा छ । यसबीचमा सरकारले ६ वटा अध्यादेश जारी गरेको छ । त्यो पनि सदनमा आउँछ । बिजिनेस प्रशस्तै मात्र आउाछ । प्रश्न सदन खुल्ने कि नखुल्ने भन्ने मात्र हो ।”
फेसबुक प्रतिक्रियाहरु