काठमाडौं।
नेकपा (एमाले) का नेता एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले निर्वाचनपछि पुनः आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
विज्ञापन
एमाले आमचोक गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राईले एमालेले जनताको पक्षमा काम गरेको बताए । उनले विभिन्न षड्यन्त्रबाट एमाले नेतृत्वमा रहेको जनप्रिय सरकार ढालिएको जनाए ।
राईले आगामी निर्वाचनपछि देशमा एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पूरा गर्ने बताए ।
“देश विकास भएको देख्न नसक्नेहरुले विभिन्न षड्यन्त्रबाट एमालेको नेतृत्वमा रहेको सरकार ढाले,” उनले भने,“अदालतमा भइरहेको अहिलेको क्रियाकलापले धेरै कुरा पुष्टि गरेको पनि छ ।” उनले देशमा विकासको लहर चलेको अवस्थामा एमाले सरकार ढाल्नु जनतालाई दुःख दिने नियत भएको जनाए ।
भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामध्ये आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाको पालिका अधिवेशन हुन बाँकी छ । षडानन्दको अधिवेशन बिहीबार हुँदै छ ।
अधिवेशनले आमचोक गाउँपालिकाको अध्यक्षमा शुक्रदेव राईलाई चयन गरेको छ । उपाध्यक्षमा बसन्त राई, सचिवमा नेत्र खत्री, उपसचिवमा राजन विष्ट र नवीन राई चुनिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु