आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • आज गणेश चतुर्थीः भगवान् गणेशको जन्म भएको दिन
समाचार

आज गणेश चतुर्थीः भगवान् गणेशको जन्म भएको दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार पाएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

विज्ञापन

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको त्रास कायम रहेपनि काठमाडौँ उपत्यकालगायत देशभरका सबै मन्दिर खुलिसकेका छन् । कोरोना त्रासका कारण कतिपय भक्तजनले भने घरमै गणेशको पूजा आराधना गर्नेछन् ।

विज्ञापन

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १४ घन्टा अगाडि

भर्खरै

सिफारिस