शुक्रबार, मंसिर ११, २०८३
  • होमपेज
  • Breaking News
  • रेनु दाहालको पहलले पायो सार्थकता, भरतपुरका ६ चोकमा सञ्चालनमा आए ट्राफिक लाइट
Breaking News

रेनु दाहालको पहलले पायो सार्थकता, भरतपुरका ६ चोकमा सञ्चालनमा आए ट्राफिक लाइट

 

भरतपुर महानगरपालिकालाई स्मार्ट, व्यवस्थित र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत तत्कालीन नगर प्रमुख रेनु दाहालले अघि बढाएको महत्वपूर्ण योजना सफलतासँगै कार्यान्वयनमा आएको छ। भरतपुरका मुख्य ६ चोकमा जडान गरिएका ट्राफिक लाइट आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन्।

विज्ञापन

 

विज्ञापन

महानगरका पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बसपार्क चोक र मालपोत चोकमा ट्राफिक लाइट सञ्चालनमा आएसँगै भरतपुरको ट्राफिक व्यवस्थापनमा नयाँ अध्याय थपिएको छ।

 

बढ्दो सवारी चाप, अव्यवस्थित आवागमन र सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै तत्कालीन नगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा मुख्य चोकहरूमा ट्राफिक लाइट जडानका लागि पहल गरेकी थिइन्। सडक विभाग तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरेपछि अघि बढेको उक्त योजना अहिले सफलतापूर्वक कार्यान्वयनमा आएको हो।

 

रेनु दाहालको नेतृत्वमा परिकल्पना गरिएको आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीले मूर्तरूप पाएसँगै उनको विकासप्रतिको दूरदर्शी सोच र निरन्तर पहलको प्रशंसा हुन थालेको छ। आफ्नो कार्यकालमा अघि सारेका योजनाहरू क्रमशः कार्यान्वयनमा आउनु विकासलाई परिणामसँग जोड्ने नेतृत्वको उदाहरणका रूपमा समेत हेरिएको छ।

पुलचोक–गोन्द्राङको छ लेन सडक तथा बाइपास रोडका मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि संघीय सरकारको बजेटबाट आयोजना अघि बढाइएको थियो। सडक विभागसँग २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण व्यवसायी Everest2Sea–Amarjyoti JV ले जडानको काम सम्पन्न गरेको हो।

 

ट्राफिक लाइट सञ्चालनमा आएसँगै मुख्य चोकहरूमा सवारी आवागमन व्यवस्थित हुने, ट्राफिक प्रहरीलाई व्यवस्थापनमा सहज हुने तथा सवारी दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

भरतपुरलाई आधुनिक, सुरक्षित र प्रविधिमैत्री सहर बनाउने अभियानमा ट्राफिक लाइट सञ्चालन महत्वपूर्ण उपलब्धि बनेको छ। रेनु दाहालले आफ्नो कार्यकालमा अघि सारेको योजना आज व्यवहारमै कार्यान्वयन हुनु उनको पहल र विकासप्रतिको प्रतिबद्धताको सार्थक परिणामका रूपमा देखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस