नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करण चितवनस्थित भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना गर्ने तयारी थालिएको छ। निर्माणाधीन रङ्गशालाको पूर्वाधार निर्माण अन्तिम चरणतर्फ अघि बढेकाले आवश्यक फ्लडलाइट तथा प्राविधिक संरचना तयार गर्न सके आगामी संस्करणका खेल चितवनमा सञ्चालन गर्न सकिने सम्भावना देखिएको हो।
यसै विषयलाई लिएर पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज क्लबका सञ्चालकहरूसँग छलफल सुरु गरेका छन्।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार रङ्गशालाको हालसम्म ६८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। बाँकी काम आगामी चार महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
रङ्गशालाको पहिलो चरणको निर्माण सम्पन्न भएपछि १५ हजार दर्शकले प्रत्यक्ष रूपमा खेल हेर्न सक्नेछन्। त्यसपछि दोस्रो चरणमा थप पूर्वाधार विस्तार गरी दर्शक क्षमता ३० हजार पुर्याउने योजना महानगरको छ।
यद्यपि, एनपीएलको चौथो संस्करण चितवनमै आयोजना हुने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। प्रतियोगिता सञ्चालनका लागि आवश्यक फ्लडलाइट जडान तथा अन्य प्राविधिक पूर्वाधार समयमै तयार हुनु अनिवार्य देखिएको छ।






फेसबुक प्रतिक्रियाहरु