चितवन। जापानमा व्यावसायिक सवारी चालकको बढ्दो अभावसँगै नेपाली चालकहरूका लागि आकर्षक रोजगारीका अवसर सिर्जना हुन थालेका छन्। जापानमा मासिक नेपाली रुपैयाँ २ लाख ५० हजारभन्दा बढी तलब हुने रोजगारीका अवसरलाई लक्षित गर्दै लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. र भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सी ले पहिलो चरणमा ८०० जना नेपाली चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम दिने तयारी गरेका छन्।
नेपालमै ट्रक, बस तथा ट्याक्सी चलाइरहेका चालकसँगै कतार, साउदी अरब, यूएई, कुवेतलगायत खाडी मुलुकमा वर्षौंदेखि सवारी चलाउँदै आएका अनुभवी नेपाली चालकहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष सन्देश अर्याल हालै जापानका विभिन्न सहरमा रहेका यातायात कम्पनी तथा स्थानीय, महानगर र प्रिफेक्चर तहका सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरी नेपाल फर्किएका छन्। उनका अनुसार जापानी यातायात कम्पनीहरू नेपाली चालकलाई रोजगारी दिन उत्साहित छन् र दक्ष चालकको माग बढिरहेको छ। “नेपाली चालकसँग सीप र अनुभव छ। हामी उनीहरूलाई जापानी भाषा र ड्राइभिङ तालिम दिएर जापानमा राम्रो आम्दानी र सुरक्षित भविष्य निर्माण गर्ने अवसर उपलब्ध गराउन चाहन्छौँ,” अर्यालले बताए।
कम्पनीका अनुसार जापानमा चालकहरूले रोजगार सम्झौताअनुसार मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी बराबरको तलब, बोनस, ओभरटाइम, सामाजिक सुरक्षा तथा अन्य सुविधा पाउन सक्छन्। साथै, हवाई टिकट र जापानी ड्राइभिङ लाइसेन्स तयारी तथा प्रक्रियामा लाग्न सक्ने करिब ११ लाख रुपैयाँसम्मको खर्च जापानी रोजगारदाता कम्पनीबाट व्यहोर्ने व्यवस्थाका लागि सहकार्य भइरहेको छ।
जापानको आधुनिक सडक, सुरक्षित तथा व्यवस्थित यातायात प्रणाली, आकर्षक पारिश्रमिक र सामाजिक सुरक्षा सुविधाका कारण विशेषगरी खाडी मुलुकमा कार्यरत नेपाली चालकहरूका लागि जापान नयाँ रोजगारी गन्तव्य बन्न सक्ने अर्यालको विश्वास छ। नेपाल र जापान दुवैमा सडकको बायाँतर्फ सवारी चलाइने भएकाले नेपाली चालकलाई जापानी ड्राइभिङ प्रणालीसँग परिचित हुन केही सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि, जापानमा काम गर्न आवश्यक भाषा, सीप परीक्षा, ट्राफिक नियम तथा लाइसेन्ससम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। कम्पनीका अनुसार यसअघि पनि उनीहरूमार्फत जापान पुगेका नेपाली ट्रक चालकहरू सफलतापूर्वक कार्यरत छन्। यस सफलतालाई विस्तार गर्दै थप नेपाली चालकहरूलाई जापान पठाउने तयारी भइरहेको छ। पहिलो चरणमा छनोट हुने ८०० जनालाई निःशुल्क जापानी भाषा र ड्राइभिङ तालिम प्रदान गर्ने योजनाअनुसार चितवन, पोखरा र काठमाडौंमा कार्यक्रम अगाडि बढाइएको छ।
कम्पनीले नेपाल तथा खाडी मुलुकमा कार्यरत इच्छुक र अनुभवी चालकहरूलाई आफ्नो ड्राइभिङ लाइसेन्स र अनुभवसम्बन्धी विवरणसहित लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. वा भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सी मा सम्पर्क गरी प्रारम्भिक छनोट तथा तालिमसम्बन्धी जानकारी लिन आग्रह गरेको छ। प्रस्तावित तलब, हवाई टिकट, लाइसेन्स खर्च तथा अन्य सुविधा सम्बन्धित रोजगारदाता कम्पनीको अन्तिम सम्झौता र कानुनी प्रक्रियाअनुसार लागू हुनेछन्। निःशुल्क तालिममा छनोट हुनु रोजगारीको सुनिश्चितता भने होइन।






फेसबुक प्रतिक्रियाहरु